कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५
815

दाङका महिलाले करिब १५ बिगाहा जग्गामा व्यावसायिक लसुन खेती सुरु गरेका छन् । राप्ती अग्र्यानिक महिला कृषक समूह निर्माण गरी उनीहरूले व्यवसायिक लसुन खेती सुरु गरेका हुन् ।
महिलाहरूले घोराही उपमहानगरपालिका वडा नं. १६ दूधनियामा १४ विगाह १५ कट्ठामा लसुन खेती गरेका हुन । जिल्लामा यती ठूलो क्षेत्रफलमा व्यवसायिक रूपमा लसुन खेती सुरु गरिएको पहिलो पटक भएको समूहले दाबी गरेको छ । जग्गा भाडामा लिएर लसुन खेती गरिएको समुहकी सचिव राधा केसीले जानकारी दिइन् । समूहले साना तथा मझौता कृषक आयस्तर आयोजनाको सहयोगमा व्यावसायिक लसुन खेती थालेको हो ।

लसुन खेतीमा २८ लाख ४९ हजार १ सय रूपैयाँ लागत लागेको सचिव केसीले बताइन् । यसमा साना तथा मझौता कृषक आयस्तर आयोजनाको १४ लाख ६९ हजार १ सय रूपैयाँ सहयोग रहेको छ भने समूहले १३ लाख ८० हजार रूपैयाँ लगानी गरेको छ । “नयाँ खेती गर्ने सोचका साथ हामी महिला मिलेर व्यावसायिक रूपमा लसुन खेती थालेका हौं,” सचिव केसीले भनिन् । यो अभियानमा अन्य महिलाले पनि साथ दिएका छन् ।
“खाली बस्नुभन्दा केही काम गरेर पछि आम्दानीसमेत हुने छ,” सचिव केसीले भनिन् । त्यसैले समूह बनाएर व्यावसायिकरूपमा लसुन खेती थालेको उनको भनाइ छ । “समूहमा काम गर्दा काम गरेको जस्तै अुनुभूति हुँदैन,” सचिव केसीले भनिन् । यसले महिलालाई सामूहिक भावनाको समेत विकास गराउन मद्दत पु¥याएको छ ।