कृञ्जला पुलामी
शुक्रवार, फाल्गुन २४, २०७५
663

सिन्धुलीको कमलामाई नगरपालिका–८ का चित्रनारायण श्रेष्ठको बारीमा थरी–थरीका तरकारी देख्न सकिन्छ । टमाटर, काउली, बन्दा, प्याज, लसुन र धनियाँ उनको बारीमा कहिले टुट्दैन ।
पहिले धान र मकै फल्ने जमिनमा अहिले उनले मौसमअनुसारका तरकारी लगाएका छन् । त्यही तरकारीबाट उनले एक वर्षमा दुई लाखको हाराहारीमा आम्दानी गर्छन । अन्नबाली लगाउँदा मेहनत धेरै गर्नुपर्ने तर उत्पादन सोचेजत्ति नहुने भएपछि व्यवसायीक रूपमा तरकारीखेती गरेको श्रेष्ठले बताए ।

सुरुमा थोरै जमिनमा तरकारीखेती गरेका चित्रनारायणले तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि खेती बढाएका छन् । उनको परिवारले २०३३ सालदेखि सोही स्थानमा निरन्तर रूपमा मौसमअनुसारको खेती गर्दै आएका थिए । तर उनले यसलाई अर्गानिक र व्यावसायिक खेतीका रूपमा विस्तार गरे । भन्छन्, “बाटो र बजारनजिकै नभएकोले समस्या छ । नभए त एक डेढ बिघामा मौसमअनुसारका तरकारी उत्पादन गर्न गाह्रो छैन ।” उत्पादित तरकारी भिमान बजार, कर्करे, माइस्थानका बजार तथा होटलमा बिक्री हुने गरेको उनले बताए ।
साथै उनले तरकारी खेतीसँगै बाख्रापालन पनि गर्दै आएका छन् । ०७२-७३ मा उनले राष्ट्रिय वाणिज्य बैकबाट १० लाख ऋण लिएर बाख्रा फर्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् । बाख्राबाट उनको आम्दानी वार्षिक चारदेखि पाँच लाख रुपैयाँ हुन थालेको छ । उनले सञ्चालन गर्दै आएको बाख्रा फर्ममा ६० देखि ७० वटा खसी नियमित हुन्छन् । खसी लिन मान्छे घरैमा आउने भएकाले उनलाई यसको बजारको चिन्ता छैन । मिहेनत गर्ने हो भने आफ्नौ ठाउँमा बसेर दैनिकी चलाउन सकिन्छ । उनले भने, “एक्लो प्रयासले त केही हुँदैन । छोराछोरीले पनि श्रमको सम्मान तथा कामप्रतिको लगाव बुझेका छन् ।”
स्थानीय तहले वडा–वडामा कृषि प्राविधिकको व्यवस्था गरिदिए खेतबारीमा आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । तरकारीखेती तथा बाख्रा फर्म हेर्न सदरमुकामदेखि छिमेकी जिल्लाबाट समेत किसानहरू आउने गरेका छन् । उनी भन्छन्, “यसले मलाई पेसा गरिरहन र थप राम्रो गर्न उत्साह जागेको छ ।”