कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५
587

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्षको हालसम्म कुल विनियोजित बजेटको ५२ प्रतिशत रकम खर्च भएको जनाएको छ । मन्थली नगरपालिकाले बुधबार मन्थलीमा गरेको चौथो नगरसभामा नगर प्रमुख रमेशकुमार बस्नेतले हालसम्म खर्च गरिएको बजेटको विवरण सार्वजनिक गरेका हुन् ।
नगरप्रमुख बस्नेतले चालू आर्थिक वर्षमा खर्च गर्ने गरी विनियोजित पुँजीगततर्फको २८ करोड ८२ लाख १९ हजार रूपैयाँमध्ये हालसम्म १३ करोड ४७ लाख २३ हजार २ सय ५० रूपैयाँ र चालू बजेटतर्फ ४९ करोड २४ लाख ८४ हजारमध्ये २६ करोड १४ लाख ६३ हजार ९ सय ७ रूपैयाँ निकासा भएको बताए । उनले माघ मसान्तसम्म सम्पत्ती करबाट ३३ लाख ७ हजार र राजस्व वाँडफाँड, नक्सा पास, उद्योग व्यवसाय दर्ता तथा नवीकरण र अन्यबाट १ करोड २५ लाख ६६ हजारसहित १ करोड ५८ लाख ७३ हजार आन्तरिक आय भएको जानकारी दिए ।
नगरप्रमुख बस्नेतले ७ महिनाको अवधिमा ६ करोड २५ लाख ५६ हजार ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भत्ता वितरण गरिएको, ७५३ वटा व्यक्तिगत घटना दर्ता भएको, वार्षिक ३ सय ९५ वटा योजनामध्ये १ सय २७ वटा योजना सम्झौता भएको, ३ हजार ७ सय ७६ वटा पशुको उपचार गरिएको, १ हजार ५ सय ६ वटा गाईभैंसीलाई कृत्रिम गर्भाधान गराइएको र २०९ वटा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाएको बताए । वडा नं. १ मा अनलाइन घटना दर्ता सुरु भएको र नगरक्षेत्रभित्रका १ हजार ७ सय २९ जनालाई गरिब परिचयपत्र वितरण गरिएको पनि उनले बताए ।