कारोबार संवाददाता
बिहिवार, फाल्गुन २३, २०७५
547

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि राजधानीमा हुने भएको छ । सम्मेलनमा नेपालसहित ११ मुलुकका कृषिविज्ञ, किसान प्रतिनिधि, कृषि सहकारीका प्रतिनिधि, उद्योगी व्यवसायीलगायत करिव ३ सय ५० जना सहभागी हुने राष्ट्रिय किसान आयोगले जनाएको छ ।
आयोगले बुधबार पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय सम्मेलनमा कृषि क्षेत्रका विभिन्न विधाका १५ वटा कार्यपत्र प्रस्तुत हुने जनाएको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनले विभिन्न मुलुकमा किसान अधिकारका लागि भए गरेका अभ्यासका बारेमा जानकारी लिएर नेपालका किसानको हक हितमा नीति निर्माणमा सहयोग पुग्ने बताए ।

सम्मेलनले कृषिसँग सम्बन्धित विभिन्न राष्ट्रका प्रतिनिधीहरूबीच भाइचारा स्थापित हुने तथा विदेशको अनुभवको आधारमा नेपालका किसानको लागि पैरवी गर्न सहज हुने अपेक्षा रहेको आयोगका सदस्य तथा प्रवक्ता रविन्द्र केसीले बताए । सम्मेलनका करिव ५० लाख रकम आयोगको बजेटबाट र करिव १० लाख विभिन्न दातृ निकायको सहयोग रहने गरि ६० लाख बराबरको खर्च हुने आयोगका सदस्य सचिव दुर्गाप्रसाद दवाडीले जानकारी दिए । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र हुने र दोस्रो दिन सहभागीहरू सम्मिलित सम्मेलनमा कार्यपत्र प्रस्तुतिको कार्यक्रम र तेस्रो दिन अर्थात् फागुन २८ गते विदेशी पाहुनालाई घुमाउने कार्यक्रम रहेको दवाडीले बताए ।
आयोगले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा भएका मुख्यमुख्य कामको विवरणसमेत बुधबार नै सार्वजनिक गरेको छ । “उदयपुर, पाँचथर, कपिलवस्तु, बाग्लुङ जिल्लामा प्रदेशस्तर तथा जिल्लास्तरमा किसान संघ÷संगठनलाई किसान हकसम्बन्धी अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको,” आयोगको उपलब्धिको पहिलो बुँदामा उल्लेख छ । चितवन, पाँचखाललगायतका क्षेत्रमा स्थलगत अध्ययन भएको, चौमासिक बुलेटिन प्रकाशित भएको, किसान संघसंस्था दर्ता प्रक्रिया अगाडि बढाएको, माटो दिवस मनाएको साथै गण्डकी, कर्णाली र सूदुरपश्चिम प्रदेशमा गोष्ठीलगायतका कार्यक्रम गरेको विषयलाई आयोगले आफ्नो सफलता ठानेको छ ।