दिलबहादुर केसी
बुधवार, फाल्गुन २२, २०७५
685

दोलखाको शैलुङ र मेलुङ गाउँपालिकामा परीक्षणका रूपमा स्याउ खेती सुरु भएको छ । शैलुङ तथा मेलुङ गाउँपालिकाले निःशुल्क स्याउका विरुवा उपलब्ध गराएपछि किसानले परीक्षणका रूपमा स्याउ खेती सुरु गरेका हुन् । जुम्लासँग हावापानी मिल्दो स्थानमा स्याउ खेतीको परीक्षण गर्न किसानलाई विरुवा उपलब्ध गराइएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए ।
परीक्षणको रूपमा स्याउ खेतीका लागि जुम्लाबाट ३ सय ५० वटा विरुवा खरिद गरी किसानलाई उपलब्ध गराइएको शैलुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले स्याउको विरुवा खरिद र ढुवानीका लागि ८० हजार रूपैयाँमा जुम्लाको हेमा गाउँपालिकाबाट स्याउका विरुवा खरिद गरी गाउँपालिकाका उच्च भूभागका किसानलाई वितरण गरेको गाउँपालिका अध्यक्ष दुलालले बताए ।

शैलुङ गाउँपालिकाका उच्च भूभाग ढुंके, चइँचाप, पात्ले तथा झोर मनगाउँमा परीक्षणको रूपमा लगाइएको गाउँपालिकाको भनाइ छ । २० वर्षअघि पनि तत्कालिन शैलुङ गाविसको झोर मनगाउँमा स्याउका विरुवा रोपिएका थिए । तर त्यसले धेरै राम्रो फल नदिएको किसानहरू बताउँछन् ।
यस्तै मेलुङ गाउँपालिकाले पनि गाउँपालिकाका वडा नम्बर ४ का फुर्केसल्ला, जिम्बाटोल, तितेचौर तथा वडा नम्बर ३ का मुकुने तथा बाटुलेका ३५ किसानलाई स्याउका विरुवा लगाउन परीक्षणका लागि वितरण गरेको गाउँपालिकाका मुख्य प्रशासकीय अधिकृत कृष्णप्रसाद हुमागाईंले जानकारी दिए ।
मुस्ताङबाट स्याउका ७ सय विरुवा खरिद गरी वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका स्याउका विरुवाहरू गोल्डन, रोयल र फूजी जातका छन् । किसानलाई पहिला नै खाल्डो तयार गर्न लगाएरपछि स्याउका विरुवा ल्याएर गाउँपालिकाले वितरण गरेको हो ।
परीक्षणको रूपमा लगाइएको स्याउ खेती सफल भएमा किसानलाई यहीँ विरुवा उत्पादन गर्न प्रोत्साहन गरिने उनको भनाइ छ । एक जना किसानले ५० वटासम्म स्याउ रोपेका छन् । विरुवा खरिद गरेर ल्याउँदा ३ फिट अग्लो भएको हुमागाईले जानकारी दिए । मेलुङ गाउँपालिकाले स्याउका विरुवा खरिद र ढुवानीका लागि १ लाख रूपैयाँ खर्च गरेको छ ।


सातामा धेरै पढिएको