कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १०, २०७५
542

दक्षिण एसियामा साना किसानको समस्या बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरिएको छ । ललितपुरमा शुक्रबार भएको ‘साना किसान तथा जलवायु परिवर्तन’ विषयक कार्यक्रममा बोल्दै कृषि विज्ञहरुले जलवायु परिवर्तनले गर्दा साना किसान मर्कामा परेको बताए । दक्षिण एसियाका विभिन्न देशका विज्ञहरुले आफ्नो देशमा भएको कृषि समस्यासंगै आपसका साझा समस्या पहिचान गरी समाधानको उपायसमेत सुझाएका थिए ।
सहभागीहरुले साना किसानलाई बचाउनका लागि स्थानीय सरकारले विशेष योजना ल्याउनु पर्नेमा जोड दिए । नेपालमा सरकारी नीति नै स्पष्ट नभएकाले समस्या अझ बढेको बताइएको छ ।

कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले कार्यक्रमको उद्घाटन गर्दै ‘प्रधानमन्त्री आधुनिकीकरण परियोजना’ ले किसानको समस्या समाधानको प्रयास गरिरहेको बताए । उनले निजी क्षेत्रसंग सहकार्यमा जोड दिएका छन् ।
त्यस्तै साफबिनका दक्षिण एसियाली क्षेत्रीय प्रमुख सुनील साइमनले नीति नियमबारे स्थानीय तहमासमेत छलफल हुनुपर्ने बताए । उनले किसान नै वैज्ञानिक भएको भन्दै उनीहरुको आत्मविश्वास बढाउन स्थानीय प्रशासनले विशेष भूमिका खेल्नुपर्ने धारणा राखे ।
सरकारका सहसचिव डा हरिबहादुर केसीले रोजगारीका लागि विदेसिएका युवाहरु मनी, मसल्स र मोटिभेसनसहित स्वदेश फर्किएर कृषि खेतीमा आकर्षित हुनु सबैभन्दा सकारात्मक पक्ष भएको भन्दै उनीहरुलाई थप उर्जाशील बनाउन सरकारले विशेष योजना नै ल्याउनु पर्ने उल्लेख गरे ।
साना किसानको क्षेत्रमा काम गर्दैै आएको कारिकास नेपाल र साफबिनको आयोजनामा भएको कार्यक्रममा हरेक वर्ष जलवायु परिवर्तनका कारण तापक्रम ०.६ डिग्री सेन्टिग्रेड बढिरहेको भन्दै चिन्ता ब्यक्त गरियो । कार्यक्रममा दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान र बंगलादेशसंगै अमेरिका, जर्मनी, अष्ट्रिया र स्वीटजरल्याण्डका प्रतिनिधिहरु सहभागी थिए ।