किरण कर्ण
मंगलबार, माघ २९, २०७५
520

जनकपुरधाम-मुलुकको दिगो विकासका लागि १५औं योजनाको आधारपत्र (प्रारम्भिक मस्यौदा) तयार पार्न प्रदेशस्तरीय परामर्श बैठक सुरु भएको छ । जनकपुरस्थित राष्ट्रिय योजना आयोगको आयोजनामा सुरु भएको बैठकमा प्रदेशको वर्तमान अवस्था र दिगो विकासलगायतका विषयमा समूहगत रूपमा छलफल भई राय संकलन गरिने छ ।
बैठकमा विकासको विद्यमान अवस्था, नेपालको दीर्घकालीन २५ वर्षे सोच, १५औं पञ्चवर्षीय योजनामा समेटिएका विभिन्न विषयगत, समिष्टगत तथा विषय क्षेत्रगत सोच, उद्देश्य तथा रणनीति र राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलगायतका विषयमा छलफल हुँदै छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बसेको बैठकमा प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, प्रदेश योजना आयोगदेखि प्रदेश तथा स्थानीय तहका पदाधिकारी सहभागी छन् ।
कार्यक्रममा आयोगका सहसचिव किरण रूपाखेतीले नेपालको दीर्घकालीन सोचसहितको १५औं योजनाको मस्यौदा र प्रदेश नम्बर २ का नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाले प्रदेशको वर्तमान अवस्था र प्रदेशको विकासलगायत विषयमा तयार पारिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकका सहभागीहरूले नेपालको दीर्घकालीन सोचका आधारमा ६ दशकको योजनाबद्ध विकास प्रयास–उपलब्धि तथा प्रमुख सिकाइ, संवैधानिक व्यवस्था–समानतामूलक समाज निर्माण र समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण, सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय लक्ष्यको रूपमा समृद्ध नेपाल, सुखी नेपाली, सन् २०२२ मा विकासोन्मुख देशमा स्तरोन्नति गर्ने, सन् २०३० अगावै दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको देशमा पुग्ने प्रतिबद्धता र सन् २०४३ मा समुन्नत राष्ट्रको स्तरमा पु¥याउने प्रतिबद्धता गरेका छन् ।
बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मानवीय विकासका लागि मानवको मूल्य मान्यता, सभ्यता, संस्कृति र पहिचानलाई ख्याल गरेर स्थानीय, प्रदेश र संघीय सरकारले योजना तर्जुमा गर्नुपर्ने बताए ।