कृष्ण न्यौपाने
मंगलबार, माघ २९, २०७५
384

व्यास नपाको चौथो नगर सभा सुरु

दमौली-तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्ष ०७५÷७६ का लागि १ अर्ब २० करोड २ लाख ८५ हजार ५ सयको संशोधित आय प्रस्तुत गरेको छ । सोमबारदेखि सुरु भएको चौथो नगर सभाको अवसरमा नगरपालिकाका उपप्रमुख मिरा जोशीले संशोधित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
चालू आवका लागि कुल १ अर्ब १२ करोड २४ लाख ३४ हजारको आय अनुमान गरिएकोमा माघ २६ गतेसम्म ६० करोड ४९ लाख २६ हजार ५ सय यथार्थ आय हुन आएको नगर उपप्रमुख जोशीले सो अवसरमा जानकारी गराइन् । जसमध्ये आन्तरिक स्रोततर्फ १४ करोड ११ लाख अनुमान गरिएकोमा माघ २५ गतेसम्म ७ करोड ६५ लाख ७९ हजार यथार्थ आम्दानी हुन आएको छ भने बाह्य तथा अन्य आयमा ९८ करोड १३ लाख ३४ हजार अनुमान गरिएकोमा ५२ करोड ८३ लाख ४७ हजार ५ सय यथार्थ आय हुन आएको छ ।

हालसम्म हासिल गरिएको प्रगतिलाई दृष्टिगत गरी आन्तरिक स्रोततर्फ विभिन्न शीर्षकमा साविकको आय अनुमानमा ४१ लाख ८८ हजार थप आय हुने गरी कुल आन्तरिक आय १४ करोड ५२ लाख ८८ हजार हुने गरी संशोधित आय अनुमान कायम गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् ।
उनका अनुसार बाह्य र अन्य आयतर्फ विभिन्न निकायबाट प्राप्त हुने गरी ७ करोड ३६ लाख ६३ हजार ५ सय थप आय हुने गरी कुल बाह्य र अन्य आय १ अर्ब ५ करोड ४९ लाख ९७ हजार ५ सय हुने गरी आन्तरिक, बाह्य र अन्य आयसमेत गरी कुल १ अर्ब २० करोड २ लाख ८५ हजार ५ सयको संशोधित आय अनुमान कायम गरिएको छ । चालू आवका लागि तेस्रो नगर सभाबाट चालू खर्च र पुँजीगत खर्चतर्फ १ अर्ब १२ करोड २४ लाख ३४ हजार विनियोजन गरिएकोमा सोमध्ये चालू खर्चतर्फ ६४ करोड ७५ लाख १४ हजार ८ सय अनुमान गरिएकोमा माघ २५ गतेसम्म ३७ करोड २० लाख ६६ हजार ३ सय यथार्थ हुन आएको छ ।
पुँजीगत खर्चतर्फ ४७ करोड ४९ लाख १९ हजार २ सय विनियोजन गरिएकोमा माघ २५ गतेसम्म १० करोड ७९ लाख ५६ हजार १ सय खर्च भएको र चालू खर्च र पुँजीगत खर्चसमेत गरी कुल जम्मा ४८ करोड २२ हजार ४ सय यथार्थ खर्च हुन आएको नगरसभामा प्रस्तुत गरिएको छ ।
चालु आर्थिक वर्षको हालसम्मको प्रगति र बाँकी अवधिको सम्भावित खर्चलाई दृष्टिगत गर्दा चालू खर्चतर्फ विभिन्न शीर्षकमा साविकको व्यय अनुमानमा ५ करोड ७६ लाख २४ हजार थप व्यय गर्ने गरी कुल चालू खर्च ७० करोड ५१ लाख ३८ हजार ८ सयको अनुमान कायम गरिएको छ ।
पुँजीगत खर्चतर्फ विभिन्न शीर्षकमा खर्च हुने गरी साविकको व्यय अनुमानमा २ करोड २ लाख २७ हजार ५ सय थप गर्ने गरी कुल व्यय अनुमान ४९ करोड ५१ लाख ४६ हजार ७ सयको संशोधित विनियोजन कायम गरिएको छ ।

नगर सभामा ५ विधेयक प्रस्तुत

मंगलबारसम्म सञ्चालन हुने नगरसभामा सोमबार पाँचवटा विधेयक प्रस्तुत भएका छन् । सभामा संशोधित आर्थिक विधेयक÷विनियोजन विधेयक, शिक्षा विधेयक २०७५, स्थानीय तहको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक, संशोधित फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७५ को संशोधन प्रस्ताव र सहकारी ऐन २०७५ को संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४ माथि संशोधन प्रस्ताव, सामाजिक विकास समितिका संयोजक काजिमान श्रेष्ठले शिक्षा विधेयक २०७५, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक विश्वराज न्यौपानेले व्यास नगरपालिकाको प्रशासनिक कार्यविधि नियमित गर्ने विधेयक २०७५, आर्थिक विकास समितिका संयोजक काशीराम श्रेष्ठले आर्थिक ऐन २०७५ माथि संशोधन प्रस्ताव, विनियोजन ऐन २०७५ माथि संशोधन प्रस्ताव र सहकारी ऐन २०७४ माथि संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रस्तुत भएका विधेयकमाथि नगर सभामा छलफल हुने र सभाले पारित गर्ने नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।