अनुपमा खनाल
मंगलबार, माघ २९, २०७५
6007

गोरखा-गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् । जसमध्ये १३० दुहुना छन् । एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन् । ३० लिटर दूध दिने गाईलाई दिनमा ३ पटक दुहुने गरिएको छ । फार्ममा दैनिक १४ सयदेखि १४ सय ५० लिटरसम्म दूध उत्पादन हुने गरेको छ । फार्ममा नै चिस्यान केन्द्र राखेका उनले प्रतिलिटर ५३ रुपैयाँमा भक्तपुरको खरिपाटी डेरीमा दूध बिक्री गर्छन् । आम्दानीबाट खर्च कटाएर न्यूनतम ३ लाख रुपैयाँ नाफा हुने पन्तले बताए । फार्मका लागि ३ सय ४० रोपनीमा १८ किसिमका घाँस खेती लगाइएको छ । १७ रोपनीमा १३ गाई गोठ, प्रशिक्षण केन्द्र, दाना उत्पादन घर, चिस्यान केन्द्र छ । पशुपालनमा आधुनिकीकरण गर्दै उनले मेसिनबाट दूध दुहुने गर्छन् । “दूध दुुहुने मेसिन ४ वटा छन् । ६ जनाले २ घन्टामा दुहेर सक्छन््,” उनले भने ।
२०५२ सालमा १८ लाख रुपैयाँ लगानीमा पन्तले स्थापना गरेको कामधेनु गाईपालन केन्द्रमा अहिले कुल लगानी ८ करोड रुपैयाँ पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना कर्मचारी फार्ममा छन् । २० जना मासिक तलब लिने कर्मचारी छन् । आवश्यकताअनुसार ज्यालादारीमा पनि काम लगाउने गरेको उनले बताए । “ज्यालादारीमा काम गर्नेलाई दैनिक ४ सय दिन्छु,” उनले भने, “दैनिक र ज्यालादारी गरी मासिक दुई लाख पचास हजार रुपैयाँ कर्मचारी तलबमा जान्छ ।” दूधमात्रै होइन्, उनले बाच्छी पनि बेच्दै आएका छन् । “ब्याउने गाई १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्छु,” उनले भने, “ब्याएको बाच्छी त उसले दिने दूधका आधारमा बेच्ने हो । प्रतिलिटर १० हजार रुपैयाँका हिसाबले बिक्री गर्छु ।”
पन्तको फार्ममा दैनिक १ लाख लिटर पानी चाहिन्छ । आवश्यक पानी मस्र्याङ्दीबाट मोटरले तान्ने गरेका छन् । ५०-५० हजार लिटरका दुई ट्यांकीमा पानी संकलन गरेर उपयोग गर्ने उनले सुनाए । फार्मका गाईलाई दैनिक ३ पटक चोकर खुवाइन्छ । यसका लागि दैनिक ३ हजारदेखि ३५ सय किलोसम्म चोकर चाहिने उनले बताए । ‘राष्ट्रपति कृषक पुरस्कार’सहित दर्जनौ पुरस्कार पाइसकेका उनले व्यावसायिक कृषिमा संलग्न भए रोजगारीकै लागि विदेशिनु नपर्ने बताए । “हाम्रै ठाउँमा पनि प्रशस्त आम्दानी गर्न सकिन्छ,” उनले भने, “सरकारले युवालाई व्यावसायिक बनाउने नीति ल्याउनु जरुरी छ । युवाहरू पनि आफ्नो ठाउँमा के गरे आम्दानी गर्न सकिन्छ त्यो बुझ्नु जरुरी छ ।” व्यवसाय सञ्चालनका क्रममा आफूले भोगेका दुख स्मरण गर्दै पन्तले भने, “निरन्तरको लगावले नै मानिस सफल हुन्छ ।” उच्च मनोबलका साथ आत्मविश्वासी बनेर काम गरे जुनसुकै क्षेत्रमा पनि सफलता हात पार्न सकिने उनको विश्वास छ ।