मनिषा चम्लागाईँ
सोमवार, माघ २८, २०७५
795

झापा-सरकारले अलैंचीको निश्चित मूल्य निर्धारण गर्न नसक्दा अलैंची व्यवसायी मारमा परेका छन् । नेपाली अलैंचीको ब्रान्ड विश्व बजारमा पु-याउन नसकेकै कारण बजार मूल्य निर्धारणमा सरकारलाई समस्या भएको हो ।
बजारको प्रवद्र्धन गर्न नसकेकाले किसानले उत्पादन गरेको अलैंची पूर्वी तराई हुँदै झन्डी काटेर भारतीय व्यापारीलाई जिम्मा लगाउने गरिएको छ  । पछिल्लो समय भारतमा अलैंची उत्पादन बढेकाले नेपाली अलैंची निर्यातमा कठिनाइ भएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । भरतीय कृषकले कम मूल्यमा अलैंची बिक्री गर्ने गरेका कारण नेपाली अलैंचीको मूल्य लगातार ओरालो लागिरहेको भट्टराई बताउँछन् । अहिलेसम्म भारतकै उत्पादन बिक्री भइरहेकाले नेपालको अलैंची खासै बिक्री नभएको उनले बताए ।
भारतको अलैंचीले विश्व बजारको माग धान्न नसके मात्र नेपाली अलैंची बिक्री हुने अध्यक्ष भट्टराई सुनाउँछन् । व्यवसायीको पहलमा मात्र अलैंचीको बजारीकरण टिकेको उनीको भनाइ छ । व्यवसायीले पहल नगरे बिक्री–वितरण ठप्प हुने अवस्था रहेको व्यवसायी बताउँछन् । पूर्वी पहाडी जिल्लाबाट झापाको बिर्तामोड आइपुगेको अलैंची प्रतिमन २७ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सरकारले अलैंची जोन घोषणा गरिसकेको ताप्लेजुङमा अलैंचीको मूल्य प्रतिकिलो पाँच सय रूपैयाँ रहेको ताप्लेजुङका अलैंची कृषक इगेन्द्र गुरुङले बताए । सदरमुकामसम्म ल्याइपु-याउँदा भने अलैंचीको मूल्य छ सय रूपैयाँ प्रतिकेजी रहेको गुरुङ बताउँछन् । नेपालको सबैभन्दा धेरै अलैंची उत्पादन गर्ने जिल्ला ताप्लेजुङ नै हो । जहाँ अलैंची प्रतिमन २४ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

विश्व बजारमा नेपाली अलैंची
नेपाल अलैंची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैंचीमा रहेको गुणस्तरीयताको पहिचान विश्वलाई दिलाउन लागि परेको जनाएको छ । महासंघ दुबई, बंगलादेश, कतारमा लाग्ने अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली अलैंचीको स्टल लिएर जाँदै आएको छ । आगामी फागुन ५ गतेदेखि ९ गतेसम्म दुबईमा लाग्ने गल्फफुड (अन्तर्राष्ट्रिय महोत्सव)मा नेपाली अलैंचीको स्टल लिएर महासंघ दुबई जाँदै छ । यसअघि कतार र दुबईमा लागेका अन्य महोत्सवमा महासंघले स्टल राखिसकेको छ । अन्तर्राष्ट्रिय महोत्सवमा स्टल राख्दा नेपाली अलैंचीको माग उच्च रहने गरेको महासंघका अध्यक्ष भट्टराईले बताए । पहिले–पहिले भारतीय व्यापारीले फोनमार्फत् अलैंचीको माग गर्ने र नेपालबाट अलैंची निर्यात गरिन्थ्यो । तर, अहिले भारतीय उत्पादनले विश्वको माग पूर्ति गरेका कारण नेपालको अलैंची भारतीय व्यापारीले लिन छाडेका छन् ।
महासंघले कतारसँग सम्पर्क गरेर यसै वर्ष एक सय क्विन्टल अलैंची कतार निर्यात गर्न सफल भएको छ । पुनः एक सय क्विन्टल निर्यात गर्ने प्रक्रियामा रहेको अलैंची व्यवसाय महासंघका महासचिव ओमकृष्ण विमलीले बताए । अलैंचीको प्याकेजिङ निर्माण गरी कतार, बंगलादेश, दुबईलगायतका देशमा नेपाली अलैंचीको गुणस्तरीय उत्पादन पु-याउन आवश्यक रहेको उनले बताए । अलैंची किसानलाई मूल्यसम्बन्धी सही सूचना दिन महासंघले ‘आईसीटी फर एजिआरआई’ सँग समन्वय गरी मुल्य सूचना प्राप्तिको व्यवस्था गरेको छ । उक्त प्रविधिले अलैंची खेतीदेखि व्यवसायसम्मको बारेमा वेबसाइटमा व्यवसायीसँग कृषकले सम्पर्क गर्न सक्ने विमली बताउँछन् । अलैंचीको गुणस्तर कायम गर्न उत्पादित अलैंचीलाई तीन ग्रेडमा वर्गीकरण गर्ने काम महासंघले सुरु गरेको छ ।

मूल्य ६ गुणा बढी
नेपाली अलैंची विश्वभर पुग्ने गरेको छ । नेपालमा उत्पादित अलैंची कतारमा ६ गुणबढी मूल्यमा बिक्री हुँदै आएको पाइएको छ । अहिले कतारमा एक केजी नेपाली अलैंचीको मूल्य तीन हजार छ सय रूपैयाँ छ । कतारलगायत खाडी मुलुकमा बढी मात्रामा निर्यात हुने अलैंची झापाको बिर्तामोडमा प्रतिकेजी ६५० रूपैयाँमा कारोबार भइरहेको छ । नेपालबाट भारत हुँदै समुद्री मार्गबाट खाडी मुलुक पुग्ने अलैंची उत्पादक र खपतकर्ता बीचको अन्तर ६ गुणा बढीले देखिएको हो ।
नेपाली अलैंची लिएर कतार पुगेका सीपी भट्टराई कतारमा नेपाली अलैंचीको मूल्य उच्च रहेको बताउँछन् । भट्टराईले भने, “नेपालका अलैंची किसानले कतारमा रहेको मूल्यको ५० प्रतिशत मात्र पाए पनि अलैंची किसानको जीवनस्तर उकासिने थियो ।” कतारमा नेपालमा उत्पादित अलैंचीलाई भारतीय पहिचान दिइएको भट्टराई सुनाउँछन् । आफ्नो देशमा उत्पादित अलैंची आफ्नो भन्न नपाउनु बिडम्बना रहेको भट्टराईले बताए । कतार र भारतका व्यापारीले अलैंची बिक्रीमा राखेको उनले सुनाए ।
नेपालको अलैंची लिएर कतारको स्टलमा राखेसँगै भारतीय व्यापारीले कम मूल्यमा भारतीय अलैंची दिने गरेको उनी सुनाउँछन् । “नेपाली व्यापारीलाई विस्थापित गराउन भारतले कम मूल्यमा अलैंची दिएको हो” भट्टराईले भने, “तर, नेपालबाट नियमित रूपमा कतार अलैंची पु-याउन सक्नुपर्छ, नेपाली व्यवसायी विचलित हुनुहुँदैन ।” कतार पु-याइएको अलैंचीको प्याकेजिङ्मा अलैंचीका फाइदाबारे पनि लेख्न आवश्यक रहेको उनले बताए । नेपालमा १६ हजार हेक्टर जमिनमा खेती हुने अलैंची कृषि मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ५ हजार टन उत्पादन हुन्छ । एक-दुई प्रतिशतबाहेक सबै बाहिर निर्यात हुन्छ । पूर्वदेखि पश्चिम नेपालसम्म हरेक पहाडी जिल्लामा अलैंची उत्पादन हुने गरेका छ । अहिले मुलुकका ४३ जिल्लामा अलैंची उत्पादन हुन थालेको छ । केही वर्ष अघि प्रतिमन १ लाख २० हजार रूपैयाँसम्म अलैंची बेचेका नेपालका अलैंची किसान अहिले प्रतिमन २४ देखि २७ हजारसम्म बिक्री गर्न बाध्य छन् ।
अलैंचीको स्पष्ट नीति निर्माण गर्न नसक्नु, कृषकका समस्या सम्बोधन गर्न राज्य चुक्नुले अलैंची खेतीबाट किसान पलायन हुन सक्ने जानकार बताउँछन् । सरकारले अलैंची व्यवसायको पक्षमा नीति नबनाएको कारण व्यसायीले आफैं बजार खोज्नुपर्ने, भारतीय व्यापारीसँग सम्झौता गर्नुपर्ने समस्या छ । व्यवसायीहरू सरकारले अलैंची व्यापारी र किसानको मर्का बुझेर साथ दिए अलैंचीले नेपालको अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताउँछन् । साथै अलैंची गोदाम राख्न वेरहाउस निर्माणमा सरकारले चासो देखाउन आवश्यक रहेको अलैंची व्यवसायी महासंघका कार्यालय सचिव अनिल ढुंगानाले बताए ।

सातामा धेरै पढिएको