कारोबार संवाददाता
आइतवार, माघ ६, २०७५
603

“नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पुर्याउनेछ ।”

काठमाडौं-परराष्ट्रविद् तथा आर्थिक मामलाका जानकारहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार (आज)देखि हुने ६ दिने स्वीट्जरल्यान्ड भ्रमण लगानीकर्तालाई आकर्षित गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । काठमाडौंमा गरिएको साक्षात्कारका उनीहरूले स्वीट्जरल्यान्डको डाबसमा हुने ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे ।
प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने दाबी गरेका छन् । उनले स्वीट्जरल्यान्डको डाबसमा हुने ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसी पनि सेयर गर्ने जनाए । “नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ । अब आर्थिक विकास र समृद्धिलाई बढावा दिइरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ,” उनले भने, “नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पुर्याउनेछ ।”

डा. भट्टराईले विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने दाबी गरे । नेपाल लगानीका लागि अनुकुल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने भन्दै उनले नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त भएको बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रूपमा बोल्ने कार्यक्रम तय भएको छ । “हाम्रो प्रधानमन्त्रीले स्ट्राटेजी आउटलुक अन साउथ एसियामा पनि बोल्नुहुन्छ । अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ । त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरू सम्मिलित हुने प्यानलमा पनि वक्ताको रूपमा सहभागी जनाउनुहुनेछ,” उनले भने । यसका साथै प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र इजरायलका प्रधानमन्त्रीसँग पनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी दए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलले मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनमा प्रधानमन्त्रीको सहभागिताले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । “विश्वका दुई÷चारवटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके मात्र पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ,” उनले भने, “एप्पल र सामसुङजस्तो बहुअन्तर्राष्ट्रिय कम्पनी नेपाल ल्याउन सके अरु लगानीकर्ता आफैं आउँछन् ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताए । उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए । “यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो । प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ,” उनले भने, “लगानी भित्र्याउनका लागि चाहिने आवश्यक ऐन कानुनलाई परिमार्जन गर्नुपर्छ ।”
स्वीट्जरल्याण्डका लागि पूर्व नेपाली राजदूत डा. शम्भुराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने बताए ।