दीननाथ बराल
शुक्रवार, पुष २७, २०७५
1368

सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनाको तयारी

पोखरा-सरकारले सबैै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनाको तयारी गरेको छ । बेरोजगारी समस्या समाधान गर्न सरकारले ल्याउन लागेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशभरका ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनाको तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए ।
पोखरामा बिहीबारदेखि सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश र स्थानीय तहहरूसँगको अन्तक्र्रियामा सहसचिव दाहालले सरकारले पहिलो पटक ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । जुन रकमबाट बेरोजगार भक्ता, निर्वाह भक्ता, स्वरोजगार र प्रशासनिक खर्च हुने छ । १० करोड रूपैयाँ प्रशाशनिक खर्च हुने भएको सहसचिव दाहालले बताए ।

सहसचिव दाहालले बेरोजगारी समस्याको पहिचान र समाधानका लागि मन्त्रालयले सवै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापनासँगै ७ सय ५३ जना फोकल पर्सनको रूपमा रोजगार संयोजक छनोट गरिने बताए । अनलाइनबाट आवेदन माग गरी कम्प्युटर स्किल अनलाइनमार्फत उनीहरूको योग्यता र क्षमताका आधारमा एक वर्षका लागि छनोट गरिने उनले बताए । फास्टट्रयाकबाट आफूहरूले स्थानीय तहमा डेढ महिनाभित्र रोजगार संयोजक नियुक्ति गरी बेरोजगार समस्या पहिचान र तथ्यांक संकलन गर्ने काममा लागेको उनले जानकारी दिए ।
सहसचिव दाहालले सरकारले कुनै आयोजना तथा निजी कम्पनीलाई आवश्यक पर्ने जनशक्ति दिन पनि यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको स्पष्ट पारे । “यदि कुनै निजी कम्पनीले योग्यता खुलाएर जनशक्ति माग गरेमा हामी दिन सक्छौं,” उनले भने, “खटाएको स्थानमा गएर काम गरे त्यहीअनुुसारको तलव भत्ता हुन्छ, अन्यथा हुँदैन ।” श्रमशक्ति परिचालनका हकमा पहिलो प्राथमिकता स्थानीयलाई हुनेसमेत उनले स्पष्ट पारे ।
यसैगरी सरकारले बेरोजगारी तथा बेरोजगार घर परिवारका लागि सरकारले एक सय दिनको ग्यारेन्टी लिने भएको छ । यदि बेरोजगार भएकालाई सरकारले काम दिन नसके कम्तिमा एक सय दिनको ५० प्रतिशत श्रम गरेअनुसारको आर्थिक सहयोग उपलब्ध गराइने भएको हो । निर्वाह भत्ताअन्तर्गत एक दिनको ५ सय १७ को दरले ५० दिनको २५ हजार ८ सय ५० रूपैयाँ बेरोजगार भत्ता पाउने छन् ।
शुक्रबारसम्म चल्ने गोष्ठीको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका थिए ।