निरु अर्याल
शुक्रवार, भदौ २९, २०७५
849

आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक 
♦ प्रदेश ३ मा अब्बल, कर्णाली कमजोर 
♦ ३४ लाख ८ हजारलाई रोजगारी 
♦ २० लाख ४४ हजार पुरुष, १३ लाख ६३ हजार महिला 

आर्थिक क्षेत्रका गतिविधिको एकीन तथ्यांक उपलब्ध गराउने लक्ष्यसहित पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणना–२०७५ को प्रारम्भिक नतिजाले मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ व्यावसायिक प्रतिष्ठान रहेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार ती प्रतिष्ठानमा ३४ लाख ८ हजार ७ सय ४६ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये २० लाख ४४ हजार ९ सय ८९ पुरुष र १३ लाख ६३ हजार ७ सय ५७ महिला रहेको विभागका निर्देशक अनिल शर्माले जानकारी दिए । “गणनामा सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत रहेको पाईयो, पुरुषको संख्या बढी देखिए पनि यसले महिला सहभागिता पनि आम जनताले सोचेभन्दा राम्रो देखिएको छ,” उनले भने । गणनाको प्रारम्भिक प्रतिवेदनअनुसार प्रदेशगतरूपमा प्रदेश नं ३ मा ३०.०६ र कर्णाली प्रदेशमा ६ प्रतिशत व्यावसायिक प्रतिष्ठान छन् ।
प्रतिवेदनअनुसार उक्त प्रदेशमा २ लाख ८२ हजार ५६ व्यावसायिक प्रतिष्ठान आबद्ध छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ४२ हजार ८ सय १७  मात्रै व्यावसायिक प्रतिष्ठान रहेका छन् । यस्तै, प्रदेश १ मा १ लाख ६८ हजार ४ सय ३४, प्रदेश ५ मा १ लाख ४७ हजार ८ सय ९२, प्रदेश २ मा १ लाख १७ हजार ५ सय ८८ व्यावसायिक प्रतिष्ठान छन् । गण्डकी प्रदेशमा १ लाख ६ सय ८८ र प्रदेश ७ मा ६२ हजार ९ सय ७० आर्थिक इकाइ रहेका प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जिल्लातर्फ तराईका जिल्लामा बढी र पहाडी जिल्लामा कम उद्योग रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सबैभन्दा धेरै काठमाडौँमा १४ प्रतिशत रहेको देखिएको छ । यस्तै झापा, रूपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरूपमा बढी व्यावसायिक प्रतिष्ठान रहेको प्ररम्भिक नतिजाले देखाएको छ । प्रतिवेदनअनुसार सबैभन्दा कम मनाङमा ४ सय ८७ प्रतिष्ठान रहेको  शर्माले जानकारी दिए । उनका अनुसार ७ सय ५३ स्थानीय तहमा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदनअनुसार स्थानीय तहको आधारमा काठमाडांै महानगरपालिकामा सबैभन्दा बढी ८.०६ प्रतिशत पाइएको छ । विभागका महानिर्देशक सुमनराज अर्यालले नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरू समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो भएको बताए । आर्थिक गणनाले वित्तीय संघीयता कार्यान्वयनमा थप सहयोग पुग्ने उल्लेख गर्दै उनले भने, “विश्वका आर्थिक गणना गर्ने मुलुकसँग हामी जोडिएका छौं, दक्षिण एसियामा भारत श्रीलंकापछि हामीले आर्थिक गणना गर्न सफल भएका छौ यसले हाम्रो इकोनोमीको सही बेन्चमार्क यसले तयार गर्नेछ ।” वैशाख १ गतेदेखि जेठ मसान्तसम्म देशव्यापी रूपमा गरिएको गणनामा ४ हजार ५ सय गणकहरू खटाईएको थियो ।
गणनामा सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण समावेश गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप (गतिविधि) मध्ये प्रत्यक्ष देखिने १८ क्षेत्रलाई गणनाले समेटेको विभागले जनाएको छ । जसअन्र्तगत कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकुलित आपूर्ति, पानी, ढल तथा फोहोर व्यवस्थापन लगायतका प्रतिष्ठान समेटिएको छ । यस्तै, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप पनि गणनामा समेटिएको बिभागले जनाएको छ । सूचना तथा सञ्चार, वित्तीय तथा बिमा सम्बन्धी गतिविधि, घरजग्गा कारोबारका गतविधिलगायतका क्रियाकलाप गर्नेलाई आर्थिक प्रतिष्ठान मानेको पनि विभागले स्पष्ट पारेको छ । पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, कला, मनोरञ्जन सँग सम्बन्धित क्रियाकलाप  र अन्य सेवा क्रियाकलाप सञ्चालन गर्नेलाई पनि गणनामा समावेश गरिएको छ ।विभागले त्यस्ता गतिविधि गर्ने प्रतिष्ठानबाट ठेगाना, मुख्य क्रियाकलाप, रोजगार, पुँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत बिक्री तथा आम्दानी, औसत मासिक खर्च, तलबज्याला खर्च लगायतका विवरण संकलन गरेको थियो ।
 राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नतिजा सार्वजनिक गर्दै विवरणले देशको आर्थिक तथ्यांकको आधार खडा गर्ने भन्दै नेपालको विकासका लागि नयाँ खुड्किलो प्राप्त भएको बताए । उनले प्राप्त सूचकहरूलाई दीर्घकालीन सोचसहितको तथ्यपरक योजना तयार गरी मुलुकको उत्पादकत्व बढाइ बेरोजगारी घटाउने रणनीतिमा सरकार र सबैलाई लाभ दिने विश्वास व्यक्त गरे । आयोगले संविधानमा उल्लिखित समाजवादउन्मुख अर्थतन्त्रको विकास लक्ष्यसहित आगामी १५औं आवधिक योजनामा आर्थिक गणनाका विवरणलाई उपयोग गर्नेछ । जापान सहयोग नियोग (जाइका)को सहयोगमा गरिएको उक्त गणनााको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने विभागको तयारी छ ।