रासस
सोमवार, भदौ २५, २०७५
334

कञ्चनपुर-आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर संकलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४-७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन गर्नुका साथै समग्र कार्यालयको सूचकांकमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तरराजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य संघ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट भएको प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।
१ अर्ब १९ करोड ३१ लाख ५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको उक्त कार्यालयले १ अर्ब ४७ करोड ९२ लाख २० हजार राजश्व संकलन गरेको छ । आयकरतर्फ ५७ करोड १० लाख २० हजार, बहाल करतर्फ ४ करोड ५० लाख १ हजार, व्याजतर्फ २ करोड २८ लाख ३४ हजार र मूल्य अभिवृद्धि करतर्फ ४३ करोड ४६ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले अन्तःशुल्कतर्फ ३९ करोड ८६ लाख ४८ हजार, स्वास्थ्य सेवातर्फ ८ लाख २५ हजार र शिक्षातर्फ ६२ लाख ६२ हजार राजश्व संकलन गरेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरअन्तर्गत करदाताको संख्या ४१ हजार ४७९ रहेको छ ।
“निरन्तर बजार अनुगमन, अनुसन्धान, करको दायरा विस्तार, कर शिक्षा, कर परीक्षण तथा अन्तरनिकायसँगको सम्बन्ध विस्तारले यहाँसम्म आइपुगेका हौं,” अधिकृत शर्माले भने । गैरनेपाली व्यवसायीले राजश्व छली गर्ने समस्या विद्यमान रहेको पाइएपछि प्रहरीको सहयोग लिइ कारबाही गरिएको उनले बताए । दायरामा नआएका ठूलादेखि साना व्यवसायीलाई करको दायरामा ल्याइने उनको भनाइ छ । कार्यालयले करको दायरामा आउनेलाई शुल्क तथा व्याज मिनाहा गर्ने भएको छ । पुस मसान्तसम्म स्थायी लेखा नं. लिई आव २०७१-७२ देखि आव २०७३-७४ सम्मको आय विवरण तथा त्यसमा लाग्ने कर बुझाएमा कर, शुल्क तथा व्याज मिनाहा गर्ने व्यवस्था छ ।