कारोबार संवाददाता
आइतवार, भदौ २४, २०७५
1358

“उत्पादन गर्नुअघि बजारको माग कस्तो छ, उपभोक्ताको चाहना के हो भन्ने बारे अध्ययन नहुँदा समस्या भएको हो ।”

धनकुटा-तीन वर्षअघिसम्म वार्षिक ३० लाख रुपैयाँभन्दा बढीको अलौंचीका बिरुवा बिक्री गर्ने धनकुटा भीरगाउँका चन्द्रलाल तामाङले विरुवा बिक्न छाडेपछि अलैंचीको नर्सरी मासेर दूध उत्पादन र तरकारी खेती गर्न थाले । कृषि क्षेत्रकै सर्वोत्कृष्ट राष्ट्रपति पुरस्कार विजेता उनी तरकारी र दूधबाट पनि लागत नउठेपछि अर्को विकल्पको खोजीमा छन् । जायजेथा बैंकमा धितो राखेर १० वर्षदेखि तरकारी उत्पादन गर्दै आएका छिन्ताङका मातृका राई अहिले एक किलोमा १५ रुपैयाँसम्म घाटा बेहोरेरै गोलभेंडा बेच्न बाध्य छन् । अब उनी कृषि पेसानै त्याग्ने निचोडमा पुगेका छन् ।
तामाङ र राई मात्र होइन, कृषिमै उज्वल भविष्य देखेर व्यावसायिक उत्पादनमा लागेका धनकुटाका किसान उत्पादित कृषि वस्तु बिक्री गर्ने बजार अभावकै समस्याले पलायन हुदैं गएका छन् । “दुःखले फलाए पनि बेच्नै नपाएर पेशानै छोड्नुपर्ने दिन एउटा व्यावसायिक किसानका लागि कस्तो होला ?,” मातृकाले भावुक हुँदै भने, “अनेकौं दुःख खेपेर फलाइए पनि बेच्नै नपाएपछि किन त्यही काम गरिरहने ?” तामाङको दुखेको पनि राईको भन्दा फरक छैन । भन्छन्, “खेती किसानीबाट कुनै बेला घरबारी जोडियो, अब त्यस्तो सम्भव देख्दिन ।”
श्रमिक, मलबीउ अभाव र मौसमी प्रतिकूलता खेपेर बल्लतल्ल उत्पादन गरेको कृषि उपज बिक्रीका लागि भरपर्दो बजार नभएकै कारण धनकुटाका किसान एकपछि अर्को गर्दै पलायन हुन थालेका हुन् । केन्द्रदेखि स्थानीयतहका सबै सरकार भन्छन्, “कृषकका लागि सक्दो सहयोग गरेर देशमा कृषि उपजको उत्पादन बढाइ, आत्मनिर्भर बनाउने ।” तर त्यो व्यवहारमा कतै महसुस गर्न नपाएको मातृकाले बताए । “कृषिउपज उत्पादन गर्नुभन्दा पनि कहाँ बेच्ने भन्ने समस्या प्रमुख बनेको छ,” कृषि अभियन्ता जीवन राईले भने, “उत्पादन गर्नुअघि बजारको माग कस्तो छ, उपभोक्ताको चाहना के हो भन्ने बारे अध्ययन नहुँदा समस्या भएको हो ।”
चिया, गोलभेंडा, बन्दा, काउली, अदुवा, अलैंची र सुन्तला उत्पादन नै धनकुटाका किसानको जीविकोपार्जनको मुख्य माध्यम हो । वार्षिक उत्पादन हुने २ लाख ३१ हजार ८ सय ७३ मेट्रिक टन फलफूल, तरकारी र मसलाबालीले भाउ नपाएका बेला नबिग्रने गरी राख्ने शीतभण्डार धनकुटामा छैन । भाउ नभएका बेला बारिमै कुहाउने र खोल्सा वा सडकमा फाल्नेभन्दा अर्को विकल्प नभएको किसानहरूको गुनासो छ । सहीदभूमि गाउँपालिकाका किसान पल्टनबहादुर राईले बजार अभावकै कारण कृषि पेसाप्रति निराशा बढ्न थालेको बताए ।

मजदुर अभाव भएपछि फेरोपर्म
गाउँका युवा जति रोजगारीको खोजी गर्दै बिदेसिएपछि धनकुटामा खेतवारीको काम गर्ने मजदुर पाउन समस्या भएको छ । धेरै स्थानमा अर्मपर्म त परै जओस्, ज्यालादारीमा पनि काम गर्ने मान्छे पाउन छाडिएको छ । खेतीकिसानी गर्न समस्या हुन थालेपछि धनकुटाको मूर्तिढुंगाका किसानले नयाँ उपाय निकालेका छन् । समूहमा आबद्ध उनीहरूले आलोपालो गरेर खेतवारीको काममा जानुपर्ने अनिवार्य नियम बनाएका हुन् ।
एक्लाएक्लै खेतीकिसानी गर्न गाह्रो, ज्यालादारीमा खेताला नपाउने भएपछि समूहमा आलोपालो गरेर काम गर्ने नियम बनाइएको हो । एकल उत्पादन, सामुहिक व्यवस्थापनले समूहका २५ परिवारलाई फाइदै फाइदा भएको महालक्ष्मी नगरपालिका–९ आहालेका प्रेमप्रसाद ढकालले बताए । “छरछिमेकमा आलोपालो काम गर्ने फेरोपर्मको चलनले गाउँमा खेताला नपाएर कसैको खेतबारीनै बाँझिने र पाकेको बाली बेलैमा उठाउन नसक्दा बितेर जाने समस्याको अन्त्य भएको छ,” उनले भने ।
तीन वर्ष यता नर्सरी बनाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने, थन्क्याउने र उपज बिक्रीका लागि मोटरबाटोसम्म ओसार्ने काम आलोपालोमै हुँदै आएको छ । कामको प्रकृति र आवश्यकता हेरी हातेमालो गर्दै आएको स्थानीय रामकुमारी थापाले बताइन् । “यस्तो चलनले व्यावसायिक जागरणमा उर्जा थपेको छ,” उनले भनिन् ।
हातेमालो गर्दै व्यावसायिक बाटोमा लम्किएका किसानको जाँगर मर्न नदिन सिन्धुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उत्पादन र बजारीकरणमा सहयोग गरेको छ । सिँचाइ सुविधा, उत्पादन र व्यवस्थापनका लागि सहयोग गर्दै आएको आयोजना प्रमुख हर्षहाङ राईले जानकारी दिए । उत्पादन लागत घटाउन, उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिमा समयानुकूल यान्त्रिकरण, सिँचाइका लागि पूर्वाधार निर्माण र मर्मत सम्भार, प्रविधियुक्त नर्सरी, उन्नत प्रविधि प्रसार, माटो जाँच शिविर सञ्चालन गर्नुका साथै कृषि उपज उत्पादनपछि बजारीकरणका पूर्वधार निर्माणमार्फत किसानलाई सहयोग गर्दै आएको राईले बताए । सहयोग र सामूहिकताको भावना कम हुँदै गइरहेका बेला धनकुटा मूर्तीढुंगामा हुन थालेको हातेमालोले गाउँले सबैलाई सहयोग पुगेको छ ।

विकास घिमिरे