कारोबार संवाददाता
बिहिवार, भदौ २१, २०७५
794

जितपुर–सिमरा उपमहानगरपालिकाले जन्मदर्तासहित २३ प्रकारका सिफारिश निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।

बारा-बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले विभिन्न सिफारिशहरू निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । देशभरका स्थानीय तहले मनपरी ढंगले कर असुलेको आरोप लागिरहेका बेला जितपुर–सिमरा उपमहानगरपालिकाले भने जन्मदर्तासहित २३ प्रकारका सिफारिशहरू निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो ।
जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, स्वदेशी अध्ययनका लागि छात्रवृत्ति सिफारिस, स्वास्थ्य उपचारसम्बन्धी सिफारिस, नावालक सिफारिस, ज्येष्ठ नागरिक परिचयपत्र सिफारिस, आदिवासी जनजाती र मधेसी, मुस्लिम र दलित सिफारिस, द्वन्द्वपीडित तथा प्राकृतिक प्रकोपमा परेकालाई सिफारिस उपलब्ध गराउँदा शुल्क नलिने निर्णय गरिएको नगरप्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।
यस्तै मठ मन्दिर, चर्च, गुम्बा, मस्जिदको सिफारिस पनि निःशुल्क उपलव्ध हुनेछ भने शववाहन, दमकलको सिफारिस लिँदा पनि नगरवासीले कुनै शुल्क तिर्नुपर्ने छैन । यस्तै विपन्न र अपांगताको सिफारिस पनि निःशुल्क लिन पाइनेछ । उपमहानगरपालिकाबाट सबै प्रकारका अनुसूची फारमसमेत निःशुल्क उपलब्ध हुने नगरप्रमुख डा. पौडेलले जानकारी दिए ।
यस्तै जितपुर–सिमरा उपमहानगरपालिकाले घरवहाल करसमेत नलिने भएको छ । यसअघि आन्तरिक राजस्व कार्यालयले १० प्रतिशत तथा उपमहानगरले २ प्रतिशत गरी १२ प्रतिशत घरवहाल कर तिर्दै आएका घरधनीले अब उपमहानगरको २ प्रतिशत छुट पाउनेछन् । तर, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराई, सम्बन्धविच्छेद जस्ता घटना भएको मितिले ३५ दिनभित्र दर्ता नगरेमा ५० रुपैयाँ जरिवाना लाग्ने उपमहानगरपालिकाले जनाएको छ ।
एउटै उपमहानगरमा जनतालाई सुविधा दिने क्रममा कर छुटमा नगरभित्रै प्रतिपर्धा देखिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १६ ले ३४ प्रकारका सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । यही भदौ ३ गते बसेको वडा नम्बर १६ को बैठकले आफ्नो वडाभित्र ३४ प्रकारका सिफारिश निःशुल्क गर्ने निर्णय गरेको हो ।
यसअघि जीतपुर–सिमरा उपमहानगरपालिकाले २३ प्रकारका सिफारिश निःशुल्क गर्ने घोषणा गरेको थियो । उपमहानगरपालिकाभन्दा वडा नम्बर १६ ले थप ११ सिफारिश निःशुल्क गर्ने घोषणा गरको हो । वडाअध्यक्ष केदार बजगाईले वडाबाट ३४ प्रकारका सिफारिश निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए । सार्वजनिक सूचना जारी गर्दै वडा नम्बर १६ को कार्यालयले यही भदौ ५ गतेदेखि लागू हुने गरी ३४ प्रकारका सिफारिस वडाबाट निःशुल्क लिने व्यवस्था मिलाइएको जनाएको छ । “यदि उपमहानगरपालिकाले नमानेमा चलानीका आधारमा आफ्नो भत्ता र सेवासुबिधाबाट जनताको काम गर्नेछौं, त्यसमा सिफारिस बराबरको लाग्ने कर नगरपालिकालाई बुझाउनेछु,” वडाअध्यक्ष बजगाईंले भने ।

प्रकाश लम्साल