कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५
689

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा दैनिक उपभोग्य सामानको मूल्य मनपरि ढंगले तोकिएको गुनासो उपभोक्ताले गरेका छन् । नगरका अधिकांश व्यवसायीले दैनिक उपभोग्यका सामान आ–आफ्नै इच्छाले मनपरी मूल्यमा बिक्री गरेको गुनासो उपभोक्ताको छ ।
नगरका कतिपय किराना पसलमा मनपरी मूल्य लिनुका साथै उपभोक्तासँग अभद्र व्यवहारसमेत गर्ने गरिएको उपभोक्ताको गुनासो छ । ती पसलले न त बिल दिने गरेका छन् न त पसलमा मूल्यसूची नै राखेका छन् । चामल, दाल, पिठो र खाने तेलमा मनपरी तरिकाले पसलैपिच्छे फरक–फरक मूल्य लिने गरिएको स्थानीय नरेश भण्डारीले बताए । मूल्यबारे बहस गर्ने तथा मूल्यसूची सोध्ने तथा बिल माग्ने उपभोक्तालाई सामान नै छैन भनेर फर्काउने गरिएको पनि भण्डारीले बताए ।

सुर्खेतरोडका स्थानीय दीपक श्रेष्ठले नगरका अधिकांश व्यवसायीले हरेक १५ दिनमा सामानको मूल्य बढेको भन्दै व्यवसायीले मूल्य बढाउँदै लगे पनि कुनै निकायले अनुगमन र निरीक्षणमा चासो नलिएको गुनासो गरे । उनले प्रशासन र अन्य सम्बन्धित निकायले अनुगमन नगर्दा उपभोक्ताले बढी मूल्य तिर्नु परेको तथा अखाद्य वस्तु बिक्री वितरण भइरहेको बताए ।
पुष्पलाल चोकस्थित भण्डारी किराना पसलका सञ्चालक लालमणि भण्डारीले पटक–पटक सामानको मूल्य बढेर नै आउने गरेको भन्दै बढेको मूल्य घटाउन नसकिने बताए । उनले सबै व्यवसायीले बढाउन थालेपछि आफूले पनि बाध्य भएर बढाएको जिकिर गरे ।
उता, किराना तथा खाद्य व्यवसायी संघले भने फरक फरक मूल्यमा सामान बिक्री नगर्न तथा हरेक पसलमा मूल्यसूची राख्न आफ्ना सदस्यहरूलाई निर्देशन दिएको छ । नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल बाहिद मन्सुरीले सबैले एउटै मूल्यमा सामान बिक्री गर्नुपर्ने भन्दै फरक–फरक मूल्यमा बिक्री गरिएको पाइए कारवाही गर्ने चेतावनी दिए ।
किनमेलका लागि त्रिभुवन चोक पुगेकी उपभोक्ता सुलोचना अधिकारीले मनपरि मूल्य कायम गर्ने व्यवसायीलाई कारबाही गर्ने निकाय मौन रहेको गुनासो गरिन् । “हरेक पसलमा फरक मूल्य छ,” उनले भनिन्, “बढी मूल्य तोक्ने व्यवसायीमाथि निगरानी बढाउने निकाय नै छैन जस्तो लागिरहेको छ ।”
उता, नेपालगन्ज उद्योग वाणिज्य संघले पनि सबै व्यवसायीले एकै प्रकारको मूल्य तोकेर सोही बमोजिम मूल्यसूची देखिने ठाउँमा राखेर सामान बिक्री गर्न आग्रह गरेको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सबैले उपभोक्तालाई सामानको बिलसमेत दिनुपर्ने बताए ।