कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५
925

बिर्तामोड-राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले झापामा सबैभन्दा धेरै चिया उत्पादन हुने गरेको जनाएको छ । बिर्तामोडमा व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्यांक विभागले मुलुकका अन्य जिल्लाको तुलनामा झापामा सबैभन्दा बढी चिया उत्पादन हुने गरेको जनाएको हो ।
विभागका निर्देशक बद्री कार्कीले चिया खेतीको उद्गमस्थल इलाम भए पनि उत्पादनको हिसाबमा झापा सबैभन्दा अगाडि देखिएको बताए । देशभरका ७७ जिल्लामध्ये १४ जिल्लामा मात्र व्यावसायिक चिया खेती गरिँदै आएको उनले जानकारी दिए ।
व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ को प्रतिवेदनमा झापामा व्यक्तिगत तथा साना किसान १ हजार ५ सय ३२ र संस्थागत तथा ठूला बगान ६९ वटा रहेको उल्लेख छ । झापामा कुल खेतीयोग्य जमिनको ७ हजार १ सय ९५ दशमलव १५ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । झापामा मात्रै ८ करोड २५ लाख १७ हजार केजी चिया उत्पादन हुँदै आएको विभागका निर्देशक कार्कीले बताए ।
देशभरका ९ हजार २ सय ३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गर्दा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको तथ्यांकमा उल्लेख छ । व्यावसायिक चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये एक हेक्टरभन्दा कम क्षेत्रफलमा ८२ दशमलव ३ प्रतिशत किसानले चिया खेती गर्दै आएका छन् । त्यस्तै एक हेक्टरभन्दा माथि १० हेक्टरसम्म १६ दशमलव ५ प्रतिशत, १० हेक्टरभन्दामाथि २० हेक्टरसम्म ० दशमलव ४ प्रतिशतले र २० हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती गर्ने किसानको संख्या ० दशमलव ८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
नेपालका ११ हजार ४१ वटा बगानहरूमा चिया खेती गरिँदै आएको छ । सबैभन्दा धेरै इलाममा ६ हजार ९ सय ९५, झापामा १ हजार ६ सय ३१ र सवैभन्दा कम सिन्धुपाल्चोकमा ८ वटा मात्र बगान रहेको विभागले जनाएको छ ।
चिया खेती गर्नेमध्ये ५९ प्रतिशतले परम्परागत खेती गर्दै आएको केन्द्रीय तथ्यांक विभागका तथ्यांक अधिकृत किशोर केसीले बताए । झापामा मात्रै ९८.६ प्रतिशतले परम्परागत रुपमा ६ हजार ५ सय ३४ दशमलव २ हेक्टरमा चिया खेती गरिरहेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी इलाममा ५७ प्रतिशत किसानले १ हजार ८ सय ८१ हेक्टरमा परम्परागत शैलीमा चिया खेती गर्दै आएका छन् ।
नगदेवालीको रूपमा रहेको चिया खेतीबाट कृषक तथा व्यवसायीले हरियो पत्ती बिक्री गरेर वार्षिक १ अर्ब ७४ करोड २२ लाख १५ हजार ३ सय ६५ रुपैयाँ आम्दानी गर्ने गरेको विभागका अधिकृत केसीले बताए । चिया खेती गर्ने कृषक तथा व्यवसायीमध्ये ४.५ प्रतिशतले मात्रै आफ्नो चिया खेती व्यवसाय दर्ता गरेर सञ्चालन गर्दै आएका छन् । झापामा ११.७ प्रतिशत र इलाममा २.५ प्रतिशतले मात्रै चिया व्यवसाय दर्ता गरेर सञ्चालन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
१९२० सालमा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्किंदा तत्कालिन चिनिया सम्राटबाट चियाको बीऊ उपहारस्वरूप नेपाल भिœयाएपछि यसको खेती इलामबाट सुरु भएको थियो । इलामका तत्कालीन वडाहाकिम गजराजसिंह थापाले चिया रोपेर नेपालमा चिया खेतीको सुरुवात गरेको इतिहास छ । यसरी स्थापना भएको इलाम टी इस्टेटपछि पूर्वी पहाडी जिल्लामा चिया खेतीले व्यवसायिकता पाएको थियो ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चिया खेती सुरु गरेसँगै झापामा पनि चिया खेतीको शुरुवात भएको थियो । नेपाली चिया उत्पादन तथा प्रशोधनका लागि सरकारी स्तरबाट २०२३ साल असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना गरेर चिया खेतीको व्यावसायिकतालाई विश्व बजारसम्म पु-याउन पहल भएको पाइन्छ ।
तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरी चिया खेतीको समग्र विकासलाई महत्व दिएसँगै झापामा चिया खेतीले व्यवसायिकता पाएको हो । नेपालमा मूलतः सीटीसी, अर्थाेडक्स र ग्रीन टी उत्पादन हुँदै आएको छ ।

चिया मजदुरहरू आन्दोलित
गत साउन १ गतेदेखि सरकारले लागू गरेको नयाँ श्रम ऐन २०७४ कार्यान्वयन गर्नुपर्ने, साउन १ गतेदेखि वृद्धि भएको न्यूनतम् पारिश्रमिक लागू गर्नुपर्नेलगायतका माग राखेर झापासहित पूर्वका चिया मजदुरहरू आन्दोलनमा उत्रिएका छन् ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको आयोजनामा झापासहित पूर्वका चिया मजदुरहरूले भदौ १८ गतेबाट पूर्वका चिया बगान र कारखानामा श्रम ऐन लागू गर्न माग गर्दै ब्यानर र कालोझन्डा राखेको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले बताए । गत साउन १ गतेदेखि लागू हुने गरी सरकारले नयाँ श्रम ऐन जारी गरेर चिया मजदुरहरूको ज्याला वृद्धि गरे पनि चिया मजदुरहरूले वृद्धि भएको ज्याला हालसम्म नपाएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले जानकारी दिए ।
सरकारले तोकेको न्यूनतम् ज्याला प्रतिदिन ३ सय ८५ रुपैयाँ र बिमासहितको थप सेवा सुविधा पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका उपाध्यक्ष सहीकुमार राईले बताए । यही भदौ २२ गतेसम्म सबै चिया बगान र कारखानामा श्रम ऐन लागू गर्न माग गर्दै व्यानर र कालो झण्डा राखेको र भदौ २३ गते विर्तामोडमा विरोध -याली र कोणसभा गर्ने कार्यक्रम तय गरिएको अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले बताइन् ।
चिया बगान स्थापना भएको १५५ वर्ष भएको र त्यसबेलादेखि नै चिया श्रमिकहरूले श्रम शोषण भोग्दै आए पनि २०४६ सालबाट आफ्नो हक अधिकार पाउनका लागि चिया श्रमिकहरू संगठित हुँदै आएको अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश नं. १ का इञ्चार्ज भूपाल सापकोटाले बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले आन्दोलन गर्नु चिया श्रमिकहरूको रहर नभएर बाध्यता भएको बताए । उनले नयाँ श्रम ऐन जारी भए पनि चिया उद्योगीहरूले विभिन्न वहाना बनाएर ऐन कार्यान्वयन गर्न आलटाल गरेको आरोप लगाए ।

तुलसीप्रसाद निरौला