अमरराज आचार्य
मंगलबार, भदौ १९, २०७५
1052

जिल्लामा फलफूल कम उत्पादन हुने भएपछि व्यापारीहरूले बाहिरी जिल्ला र छिमेकी मुलुक भारतबाट आयात गर्ने गरेका छन् ।

चाडपर्व नजिकिँदै गर्दा फलफूलको माग पनि बढेको छ । त्यसैले फलफूल पसलमा उपभोक्ताको चाप बढ्दो छ । तर, व्यापार बढ्दै गए पनि दाङ जिल्ला फलफूलमा आत्मनिर्भर हुन सकेको छैन । यहाँ बिक्री हुने अधिकांश फलफूल बाहिरी जिल्लाबाट ल्याइने गरेको व्यापारीहरू बताउँछन् ।
जिल्लामा फलफूल कम उत्पादन हुने भएपछि व्यापारीहरूले बाहिरी जिल्ला र छिमेकी मुलुक भारतबाट आयात गर्ने गरेका छन् । त्यसरी आयात गरिएका फलफूल पनि अस्वस्थकर हुने गरेको उपभोक्ताहरूले बताएका छन् ।
जिल्लामा फलफूल उत्पादन नहुने भएकाले जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको घोराही फलफूल व्यवसायी समितिका अध्यक्ष भरत रसाइलीले बताए । व्यवसायीहरूले चितवन, त्रिवेणी, टिकापुर र भारतबाट फलफूल ल्याउने गरेका छन् । यहाँ बिक्रीवितरण हुने अधिकांश केरा चितवनबाट ल्याइने गरेको छ । त्यसैगरी केही टिकापुरबाट र अरू भारतबाट आयात हुने गरेको अध्यक्ष रसाइलीले जानकारी दिए । उनका अनुसार दाङमा चाडपर्वका समयमा केरा मात्र दैनिक ८४ हजार दर्जन बिक्री हुने गरेको छ ।
“हामीले बिक्री गर्नका लागि स्थानीय केरा पाउँदैनौं, त्यसैले बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता छ,” अध्यक्ष रसाइलीले भने । यसरी वाहिरबाट ल्याएर फलफूल बिक्री गर्दा जिल्लाको रकमसमेत वाहिर जाने गरेको छ । जिल्लामा उत्पादन भएमा वाहिर जाने रकम रोकिने र कृषकलाई पनि आम्दानी हुने उनी बताउँछन् ।
त्यसैगरी दाङमा बिक्री हुने ९० प्रतिशत स्याउ चीनबाट आयात हुने गरेको छ । नेपालकै जुम्लामा उत्पादन हुने स्याउ १० प्रतिशत आयात हुने गरेको व्यवसायीहरूको भनाइ छ । “जिल्लाको उत्पादन भनेको आँप मात्र हो,” अध्यक्ष रसाइलीले भने । यहाँका नागरिक फलफूल खेतीतर्फ आकर्षित हुन नसकेको व्यवसायीहरूको भनाइ छ ।
स्थानीय सरकारले कृषिलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए पनि फलफूल खेतीतर्फ अहिलेसम्म कुनै सहयोग नगरेको किसानहरू बताउँछन् । स्थानीय सरकारले कृषिमा सहयोग गरे फलफूल खेती गर्न सहयोग हुने उनीहरूको भनाइ छ ।

दर्ता बिनै व्यवसाय गर्दा समस्या
दाङमा सञ्चालित अधिकांश व्यवसाय दर्ता नगरी सञ्चालन गरिएका छन् । दर्ता नगरी व्यवसाय सञ्चालन गर्दा दर्ता गरी राज्यलाई आयकर तिर्ने व्यवसायीहरूलाई भने घाटा भएको छ । बजारका चोकचोकमा दर्ता विनै पसल राखेर फलफूल बिक्री गर्दा दर्तावाला व्यवसायीलाई भने समस्या पर्ने गरेको घोराही फलफूल व्यवसायी समितिका अध्यक्ष भरत रसाइलीले बताए । “चोकमा ठेला राखेर व्यवसाय गर्दा उपभोक्ताहरू फलफूल पसलसम्म पुग्दैनन,” अध्यक्ष रसाइलीले भने । यसको व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने उनले बताए । विशेष गरी भारतीयहरूले विना दर्ता व्यवसाय सञ्चालन गर्दा स्थानीय व्यवसायीलाई समस्या भएको उनको भनाइ छ ।
यसैबीच दाङ उद्योग वाणिज्य संघले पनि विना दर्ता व्यवसाय गर्न नपाइने जनाएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले कुनै पनि व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायमा दर्ता गरेर मात्र व्यवासाय सुरु गरिनुपर्ने बताए । विना दर्ता सञ्चालन भएका व्यवसायलाई कानुन वमोजिम कारबाही हुने उनले बताए ।