कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५
1007

बिर्तामोड-पछिल्लो समय पशुपालन व्यवसाय झापाका किसानको आम्दानीको दरिलो स्रोत बनेको छ । पशुपालन व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि वैदेशिक रोगजारीमा जानेहरू पनि विदेशबाट फर्किएर पशुपालन व्यवसाय गर्न थालेका छन् । यिनै मध्येका एक हुन्– झापा बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल ।
आर्थिक अवस्था कमजोर भएका कारण २०६० सालमा १ लाख १५ हजार रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका झापा बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकालले चार वर्षसम्म मलेसियामा ‘फ्याक्ट्री वर्कर’ को काम गरेको र त्यहाँ मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाएको बताए । विदेशमा कडा मेहनत र परिश्रम गर्दासमेत सोचे जस्तो आम्दानी गर्न नसकेपछि स्वदेश फर्किएका ढकाल कम्पनीले आउने–जाने प्लेन टिकट दिए पनि विदेश नफर्किएर २०६५ सालबाट व्यावसायिक पशुपालन सुरु गरेको बताउँछन् ।

दुईवटा गाई र दुईवटा भैंसी पाल्दै पशुपालन व्यवसाय सुरु गरेका ढकालको गोठमा अहिले १० वटा उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक खर्च कटाएर झन्डै एक लाख रुपैयाँ बचत गर्दै आएका छन् । दैनिक एक सय लिटर दूध बेच्दा ४ हजार ५ सय आम्दानी गर्ने गरेको उनी बताउँछन् । होलस्टेन, व्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आएका उनले आफ्नो फर्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आएका छन् । ‘हिमअतुल’ गाईफर्म दर्ता गरेर उन्नत जातका गाईपालन सुरु गरेको ढकालले बताए ।
गाईपालनबाट मनग्य आम्दानी गर्न थालेपछि अहिले झापा बाह्रदशी गाउँपालिका–३ राजगढबाट वैदेशिक रोगजारीमा जानेहरू पनि घटेका छन् । झापा बाह्रदशी गाउँपालिका–३ राजगढका प्रेमराज चापागाईं, महेन्द्र पोखरेल, पुण्यप्रसाद चापागाईले पनि व्यावसायिक गाईपालन सुरु गरेकोे ढकालले बताए ।

तुलसीप्रसाद निरौला