कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
973

नेपालगन्ज-बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहरको गुणस्तरमा पटकपटक प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्किएको नहरमै पुगेर छानबिन सुरु गरेको छ ।
आयोजनाको मूल नहरको गुणस्तरमा प्रश्न उठ्न थालेपछि अख्तियार दुरुपयोग आयोगले गठन गरेको ५ सदस्यीय अनुसन्धान टोलीले नहरमै पुगेर स्थलगत अध्ययन सुरु गरेको हो । अख्तियार अनुसन्धान दुरुपयोग आयोगको काठमाडौंबाट आएको टोलीले नहर भत्किएको स्थानमै पुगेर निरीक्षण सुरु गरेको सिक्टा सिँचाइ आयोजनाले जनाएकोे छ । आयोजनाका डिभिजनल इन्जिनियर प्रकाश कार्कीले अख्तियारको टोलीले बाँकेमा पुगेर अनुसन्धान सुरु गरेको बताए ।

अख्तियारका अधिकारीले नेपालगन्जस्थित आयोजना प्रमुखलगायतसँग आर्थिक तथा प्राविधिक पक्षका बारेमा जानकारी मागेको अख्तियारले जनाएको छ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर परीक्षणकै क्रममा पटकपटक भत्किएको भन्दै त्यसको गुणस्तर जाँचका लागि चौतर्फी रूपमा ब्यापक आवाज उठ्न थालेपछि अख्तियारले ५ सदस्यीय अनुसन्धान समूह गठन गरेकोे थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका प्रवक्ता रामेश्वर दंगालले सिक्टा आयोजनाको भत्किएको नहरबारे अध्ययनका लागि अनुसन्धान टोली नेपालगन्ज गएको र स्थलगत अध्ययन सुरु गरेको बताए । हाल अध्ययन र अनुसन्धानकै क्रममा रहेकाले त्यसबारे विस्तृत जानकारी दिन नमिल्ने उनले बताए ।
सिक्टाको मूल नहर पहिलो पटक २०७३ असार १४ गते परीक्षण गर्दा अगैया ब्यारेजदेखि पश्चिमतर्फको २६ किलोमिटर दूरी झिझरीनजिकै भत्किएको थियो । यो वर्षामा पनि यही साउन ७ गते नहर भत्किएपछि गुणस्तर जाँचका लागि आवाज उठेको हो । आफ्नै लगानीमा मुलुककै बहुचर्चित आयोजना निर्माण भएका कारणले पनि बाँकेवासीले अनुसन्धानमा बढी चासो देखाएका छन् ।
२५ अर्ब बढीको लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर र स्लोभ पटकपटक भत्किने गरेको छ । ०६१/६२ देखि निर्माण सुरु भएको सो आयोजनामा हालसम्म हेडवक्र्ससहित करिब १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ । तर पनि जिल्लाका किसानले अझैसम्म सो आयोजनाबाट सिँचाइका लागि पानी पाएका छैनन् ।
सुरुको लक्ष्यअनुसार झन्डै १२ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आव ०७६/७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ ।
आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म सिक्टाको करिब ५७ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।