कारोबार संवाददाता
मंगलबार, श्रावण २९, २०७५
1036

नेपालगन्ज-नेपालगन्ज–बघौडा हुलाकी सडक स्थानीयले मर्मत गरेर सञ्चालनमा ल्याएका छन् ।
हुलाकी सडक आयोजनाले सडक मर्मत नगरी छोडेपछि अवरुद्ध सडक राप्तीसोनारी गाउँपालिका–७ का स्थानीयले मर्मत गरी सञ्चालनमा ल्याएका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारूको अगुवाइमा स्थानीयले माटो पटान, ग्राभेल बिछ्याउने र सम्याउन श्रमदान गरेपछि नेपालगन्ज–नरैनापुर बघौडा सडक सुचारु भएको हो ।
हुलाकी सडक आयोजनाको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन जेभीले कल्भर्ट निर्माण गर्ने क्रममा ठाउँठाउँमा सडकलाई खनेर अस्तब्यस्त छाडेपछि वर्षात्ले यातायात सेवा अवरुद्ध भएको वडाध्यक्ष थारूले बताए । स्थानीय जनतासँगसँगै वडाध्यक्ष आफैँले पनि बेल्चा र फरुवा चलाएर सडक मर्मतमा जुटेका थिए । उनले पैदल आवतजावतमा समेत असहज भएपछि सडक मर्मत गर्न आफूले पहल गरेको बताए ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन वडाध्यक्षले पहल गरेपछि स्थानीयले जनश्रमदान मात्र गरेनन्, ट्याक्टर मालिकले एक–एक ट्याक्टर गिट्टी ल्याएर सडक मर्मतमा सहयोग गरेका थिए । हुलाकी सडक निर्माण कम्पनीको लापरबाहीका कारण एम्बुलेन्स सेवासमेत अवरुद्ध भएको थियो । जसले बिरामीलाई समेत आवतजावत गर्न समस्या भएको थियो । आवतजावतलाई सहज बनाउन हिलाम्ये सडक मर्मतमा जनश्रमदान गरेको फत्तेपुरका हरि चौधरीले बताए ।
उनले स्थानीयको सहयोगमा अवरुद्ध सडक सुचारु भएको बताए । “सडक सुचारु गर्ने दायित्व हुलाकी सडक आयोजनाको हो, तर पनि यातायात सेवा सुचारुका लागि स्थानीयले श्रमदान गरेका हौं,” उनले भने ।
स्थानीयले झण्डै पाँच सय मिटर सडकमा माटो पटान र ग्राभेल हालेको वडाध्यक्ष थारुले बताएका छन् । उनले स्थानीयले एक लाखभन्दा बढी रकमको सडक मर्मत गरेको बताए । “ठेक्का पट्टामा बनाउनु परेको भए एक लाखभन्दा बढी रकम खर्च हुने थियो,” अध्यक्ष रामलखनले भने ।
उक्त सडक खण्डमा नेपालगन्जबाट नरैनापुरसम्म बस सञ्चालन भए पनि सडक हिलाम्ये भएपछि हाल रोकिएको छ । सडक मर्मतपछि बस सेवा पनि सञ्चालनमा आउने भएको छ । “स्थानीयले सडक मर्मत गरेपछि बस सेवा पनि सञ्चालन हुने भएको छ,” उनले भने । उनले अन्य ठाउँमा बिग्रिएको सडक मर्मतका लागि स्थानीयको सहयोग लिने बताए । सरकारको मुख ताकेरमात्र विकास सम्भव नहुने भएकाले जनश्रमदानमा जोड दिएको अध्यक्ष थारुले बताए ।