कारोबार संवाददाता
शुक्रवार, श्रावण १८, २०७५
712

♦ आयोजनामा हस्तक्षेप गर्न सरकारसँग आग्रह 
♦ छ महिनाको वित्तीय प्रगति जम्मा २३ प्रतिशत
 एसियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजनामा भइरहेको ढिलाइमा हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको छ । एडीबीले ती आयोजनाको प्रगति निकै सुस्त भएको भन्दै हस्तक्षेप गर्न सरकारसँग आग्रह गरेको हो । एडीबीको सहयोगमा सञ्चालित विकास आयोजनाहरूको बिहीबार काठमाडौंमा भएको समीक्षा बैठकमा एडीबीका उपमहानिर्देशक दिवेश शरणले उल्लेखित आयोजनामा सरकारले नजिकबाट अनुगमन गरी निर्णायक कदम चाल्नुपर्ने बताए ।एडीबीले नेपालमा विभिन्न ३३ वटा आयोजनामा २ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ लगानी गरेको छ । एडीबीको सबैभन्दा धेरै ३२ प्रतिशत लगानी सहरी विकास र खानेपानीमा तथा २३ प्रतिशत लगानी ऊर्जा क्षेत्रमा छ । एडीबीले लगानी गरेकामध्ये त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी मुख्य आयोजना हुन् । एडीबीका उपमहानिर्देशक शरणले अहिलेकै गतिमा काम भए उल्लेखित कुनै आयोजना पनि निर्धारित समयमा पूरा नहुने भएकाले सरकारले सार्वजनिक खरिद ऐन र नियमावलीमा पनि थप सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । यस वर्ष एडीबीका आयोजनाको प्रगति निकै सुस्त छ । ६ महिनामा २३ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । अर्थ सचिव डा. राजन खनालले समस्या पहिचान गरी कामलाई तिब्रता दिन आयोजना प्रमुख र सम्बन्धित मन्त्रालयसँग आग्रह गरे । प्रगति सुस्त भएपछि अर्थ मन्त्रालयले आयोजनासँग सम्बन्धित मन्त्रालयसँग नियमित रूपमा छलफल सुरु गरेको छ ।