भीम गौतम
बिहिवार, श्रावण १७, २०७५
4922

एक दिनमा ५२ मिटरसम्म सुरुङ

नेपालमै पहिलोपटक भित्र्याइएको टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिले सबैभन्दा संवेदशनशील क्षेत्र पार गरेको छ । भेरी बबई आयोजनाको सुरुङ निर्माणका क्रममा मेसिनले यो क्षेत्र पूरा गरेको हो ।
टीबीएम प्रविधिका लागि सबैभन्दा संवेदनशील मानिएको र आयोजनाका अधिकारीहरूले समेत सबैभन्दा प्रतीक्षा गरेको टोलीखोलाकोमुनिको क्षेत्र मंगलबार पार गरेको हो । यो पार गरेसँगै १२ किलोमिटर सुरुङमध्ये ६.३२४ किलोमिटर सुरुङको सम्पन्न भएको छ । २०१७ नोभेम्बर अन्तिम सातादेखि टीबीएमबाट सुरुङ निर्माण सुरु भएपनि सो खोलामा सुरुङ निर्माणको भाग सफल हुने नहुने आयोजनाका लागि चिन्ताको विषय थियो । “टोली खोलाको क्षेत्रलाई हामीले सबैभन्दा बढी संवेदनशील क्षेत्रको रूपमा लिएका थियौं,” आयोजना प्रमुख शिवकुमार बस्नेतले भने, “संवेदनशील क्षेत्र पार गरेका छौं, खोलाको मुनि के हुन्छ भन्ने हाम्रो ठूलो प्रतिक्षा थियो ।”

जलविद्युत् सिँचाइ र खानेपानीका ठूला आयोजनाहरूमा सुरुङ निर्माण सबैभन्दा ठूलो समस्याको रूपमा रहेको र यसकै कारण आयोजनामा लागत र समय दोब्बर लागिरहेको बेला भेरी बबइले सुरुङको लागि टीबीएम भित्र्याएको थियो । सामान्यता ड्रिलिङ र ब्लाासटिङ प्रविधिले दैनिक तीन मिटर मात्र सुरुङ खनिने भएपनि टीबीएम प्रविधिले दैनिक ५२ मिटरसम्म सुरुङ खनेको आयोजना प्रमुख बस्नेतले जानकारी दिए । उनका अनुसार, सन् २०२० मार्चसम्म १२ किलोमिटर सुरुङ खनिसक्ने लक्ष्य राखिएको छ । २७ किलोमिटरको मेलम्ची खानेपानी आयोजनाको सुरुङ पूरा गर्नका लागि डेढ दशकभन्दा बढी लागेको उदाहरण नेपालमा भईरहेको बेला टीबीएम प्रविधिमार्फत अघि बढाइएको सुरुङ र यसको प्रगतिलाई चमत्कारकै रूपमा हेर्न थालिएको छ । भेरी बबईको पाठबाट विद्युत्् प्राधिकरणले अघि बढाउन लागेको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा टीबीएम प्रविधि भित्र्याउनका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
सन् २००१ जापान सहयोग नियोग (जाइका) को सहयोगमा विद्युत् विकास विभागले अध्ययन गरेको आयोजना ८ वर्षअघि सिँचाइ मन्त्रालयअन्र्तगत अघि बढेको थियो । ५ वर्षअघि टीबीएम प्रविधि ल्याउनका लागि पहल भएपनि सन् २०१५ मा प्रक्रिया अघि बढाइएको नयाँ प्रविधि चार महिनाअघि मात्र नेपाल भित्रिएको थियो । आयोजनाका अनुसार टीबीएम ल्याउन ३ महिना समय ल्याउन र एक महिना जडान गर्न लाग्ने अनुमान गरिएको १ हजार ५६ टनको मेसिन ल्याउन डेढ महिना र जडान गर्न करिब एक महिनामात्र समय लागेको थियो । चिनियाँ ठेकेदार कम्पनी कोभेकले यो मेसिन ल्याएको हो । आयोजनाका अधिकारीहरूका अनुसार ड्रिलिङ र ब्लाासटिङ प्रविधिमार्फत सुरुङ निर्माण गर्दा कम्तीमा १५ वर्ष लाग्ने भएपनि टीबीएमबाट २८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिँचाइसँगै चार वर्षभित्र ४८ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सल्यान र दाङ हुँदै आएको भेरी नदीको पानीलाई बबईमा ल्याउने गरी इन्टर–बेसिन वाटर ट्रान्सफर गरी बन्न लागेको आयोजना नेपालकै ठूलो हो । ४० क्यूमेक्स पानी जम्मा हुने आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नेछ । बार्षिक रूपमा आयोजना बनेपछि सिँचाइतर्फ ३ अर्ब र जलविद्युत्तर्फ ४ अर्ब प्रत्यक्ष फाइदा हुनेछ । आयोजनाको समय नयाँ प्रविधिले घटाएसँगै यसबाट करिब एक खर्ब रुपैयाँ जोगिने अनुमान गरिएको छ ।
सुरुङ छिटो बन्दा सिँचाइको निर्माण अवधि १३ वर्ष घट्ने तथा जलविद्युत्को ११ वर्ष घट्ने कारण यसबाट यति धेरै रकम जोगिने आयोजनाका अधिकारीहरू बताउँछन् । सुरुङ खनेसँगै निर्माण पनि सम्पन्न हुँदै जाने प्रविधिले नेपालका कठिन मानिएको सुरुङ निर्माणलाई सहज बनाइदिएको छ । नयाँ प्रविधिले माटो खन्ने, निकाल्ने, अस्थायी सपोर्ट दिने, पूरै सुरुङ खनेपछि कङक्रिट लाइनिङ गर्ने जस्ता कामलाई विष्थापन गरेरे सुरुङ खनेपछि सेगमेन्ट हाल्ने र एकै साथ सम्पन्न हुने हुनाले यसले पहिला भने सुरुङ निर्माण पूरा भएपछि दुई-तीन वर्ष क्रकिट सम्पन्न गर्न सक्ने अवस्थाको समेत अन्त्य गरेको छ ।
नेपालमा निर्माण हुन लागेका र सम्पन्न भैसकेका मेलम्ची खानेपानीदेखि चमेलिया, मध्यमस्र्याङ्दी, माथिल्लो तामाकोशी लगायतका आयोजनाहरूमा सबैभन्दा ठूलो समस्याको रूपमा सुरुङ निर्माण देखिएको छ । अधिकांश आयोजनाको लागत र समय दोब्बर, तेब्बर हुनुको कारणको रूपमा सुरुङ निर्माणलाई लिने गरिन्छ ।