कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५
694

म्याग्दी-म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि सञ्चालित प्रसारणलाइन र सबस्टेसन निर्माणको ६० प्रतिशत काम सकिएको छ ।
कालिगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानादेखि पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किमि लामो प्रसारणलाइन र सबस्टेसन निर्माणको काम ६२ प्रतिशत सकिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेसन निर्माण भइरहेको सो आयोजनाको प्रसारण लाइनका लागि टावर निर्माणको कामले समेत गतिलिएको छ ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ मात्र निर्माण सम्पन्न भएको र करिब एक दर्जन स्थानमा टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । सो खण्डको डिजाइनको सबै काम भने सकिएको छ । उनका अनुसार सबस्टेसनको समेत पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा कालिगण्डकी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि दानादेखि खुर्कोट जोड्ने प्रसारणलाइन र सबस्टेसन निर्माण सुरु गरेको थियो । दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सबस्टेसनको पूर्वाधार, प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण खरिदको कामलाई अघि बढाएका छन् ।
सन २०१८ नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिए । सो आयोजनाको अहिलेसम्म ६२ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ ।
कालिगण्डकी कोरीडोर प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सबस्टेसन र प्रसारणलाइन निर्माणको काम अघि बढाएको तथा खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भइरहेको आयोजना प्रमुख घोषले जानकारी दिए ।
यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसंँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छन् । सो आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे चार करोडभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । कालिगण्डकी करिडोर राष्ट्रिय प्रसारण लाइनमार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिने छ । सो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन सुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, र १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट निर्माणाधीन छन् ।
त्यस्तै रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण सुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालिगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायत आयोजनाले काम सुरु गर्ने तयारी गरेका छन् । यहाँका खोलानालाबाट विद्युत् उत्पादनको इजाजतपत्र लिएर बसेकाहरू प्रसारणलाइन निर्माणले गति लिएसंँगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।