भीम गौतम
बुधवार, श्रावण १६, २०७५
1366

सरकारले सन् २०४० भित्र ६ खर्ब ३७ करोड रुपैयाँ लागतमा ६ हजार ८ सय ३७ किलोमिटर बनाउने महत्वकांक्षी गुरुयोजना अघि सारेको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तयार पारेको नेपालको प्रसारण प्रणाली विकासबारेको गुरुयोजनामा ५ क्षेत्र बनाएर १ सय ११ प्रसारण लाइन आयोजना अघि बढाउने गरी गुरुयोजना अघि सारेको हो ।
प्रसारणलाइनको अभावमा वर्षामा विद्युत् खेर जाने भन्दै चिन्ता प्रकट भइरहेको बेला ठूला प्रसारण लाइनको योजनासहित गुरुयोजना सार्वजनिक गरिएको छ । सन् २०४० सम्ममा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई आधार मानेर आवश्यक पर्ने ४० हजार मेगावाट विद्युत्लाई लक्षित गरी गुरुयोजना निर्माण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले जानकारी दिए । “प्राविधिक रूपमा भन्नुपर्दा ४० हजार मेगावाट विद्युुतका लागि आवश्यक प्रसारण लाइनको लागि आवश्यक ४०० केभी, २२० केभी र १३२ केभी गरी ६ हजार ८ सय किलोमिटर लाइन निर्माण गर्ने र यसका लागि ६ खर्ब बराबरको लागत आवश्यक देखिएको छ,” उनले भने, “सरकारी, निजीक्षेत्रका साथै दातृ निकाय र विभिन्न वित्तिय निकायसँग ऋण लगानी जुटाएर लाग्ने गरी गुरुयोजनामा तयार भएको छ ।”गुरुयोजनामा ४ सय केभीका ३ हजार १ सय ९२ किलोमिटर, २ सय २० केभीका १ हजार १ सय ६० किलोमिटर र १ सय ३२ केभीका २ हजार ५ सय १५ किलोमिटर प्रसारणलाइन बनाउने उल्लेख छ । जसका लागि ३ खर्ब ७६ अर्ब ७९ करोड लागत आवश्यक रहेको उल्लेख छ । त्यसैगरी ४ सय केभीको ४० सवस्टेशन, २२० केभीको १९ सवस्टेसन र १३२ केभीको १४ सवस्टेशन निर्माण गर्ने र यसका लागि २ खर्ब २६ अर्ब ९७ करोड लगानी आवश्यक रहेको गुरुयोजनामा उल्लेख छ ।

 प्राधिकरणका अनुसार, हाल ७८ सर्किट किलोमिटरको ४०० केभीको एक प्रसारण लाइन, ७५ सर्किट किलोमिटर २२० केभीको १ वटा,  २ हजार ८ सय १९ सर्किट किलोमिटरको १३२ केभीको ३० वटा प्रसारण लाइन, ४ सय ९४ किलोमिटरका ६६ केभीका १५ प्रसारण लाइन तथा १ हजार ९ सय ९६ एमभीएका १३२-३३ का १८ सवस्टेशन र ६ सय २१ एमभीएको ६६ केभीका ७ वटा सवस्टेशन निर्माण सम्पन्न भैसकेका छन् । त्यसैगरी १ हजार ३ सय ५७ सर्किट किलोमिटरको २२० केभीका ८, १ हजार १ सय ८ सर्किट किलोमिटर बराबरको १३२ केभीका १५ प्रसारण लाइन तथा ५ सय ३३ एमभीए बराबरका १३२-३३ केभीका ७ र २३० एमभीए बराबरका २२०-१३२ केभीका एक सवस्टेशन निर्माणाधीन छ । प्रसारण लाइन निर्माण सुरु भएको १ सय ७ बर्षमा ३ हजार ४ सय ६६ किलोमिटर प्रसारण लाइन र २ हजार ६ सय १५ एमभीएका सवस्टेशन निर्माण गरेकोमा आगामी २२ बर्षभित्रनै ६ हजार ८ सयभन्दा बढीको प्रसारण लाइन बनाउने योजना अघि सारिएको छ ।
यस अघि सन् २०१५ मा नेपाल विद्युत् प्राधिकरणले भने सन् २०३५ सम्मका लागि विद्युत् प्राधिकरणले गुरुयोजना बनाएको थियो । ग्रीड कम्पनीका अनुसार, महाकाली, पश्चिमसेती र कर्णाली कोरिडोरको रूपमा क्षेत्र नं. १ मा १ हजार १ सय ६२ किलोमिटर बराबरका १७ प्रसारण लाइन  र योजना, भेरी कोरिडोर र आसपासको क्षेत्र नं. २ मा ८ सय ५९ कलिोमिटर बारबरका १७ प्रसारण लाइन तथा कालीगण्डकी, मस्याङदी र आसपासका कोरिडोर रहेको क्षेत्र–३ मा १ हजार ८ सय ७९ किलोमिटर बराबरका ४१ प्रसारण लाइन निर्माणको प्रस्ताव गुरुयोजनामा देखिएको छ । त्यसैगरी बुढीगण्डकी, त्रिशुली, तामाकोशी र आसपासका कोरिडोरको रूपमा रहेको क्षेत्र–४ मा १ हजार ४ सय १४ किलोमिटर बराबरका ३८ र दुधकोशी, तमोर-अरुण कोरिडोर र आसपासका क्षेत्र–५ मा १ हजार ५ सय ४७ किलोमिटर बराबरका ३६ प्रसारण लाइन आयोजना निर्माण गर्ने लक्ष्य गुरुयोजनामा छ । 

ग्रीड क्षेत्र                       प्रस्तावित लाइन (किलोमिटर)  
क्षेत्र– १                         ११६२
क्षेत्र–२                            ८५९
क्षेत्र–३                          १८७९
क्षेत्र–४                          १४१४
क्षेत्र–५                          १५४७
स्रोतः राष्ट्रिय प्रसारण लाइन ग्रीड कम्पनी