कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५
2202

दोलखा-अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलाखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज)देखि संकलन सुरु हुँदैछ । पटक–पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुनलागेको हो ।
दोस्रो चरणमा आयोजना प्रभावित(दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरूबाट सेयर भर्न पाउनेछन् । दोलखावासीलाई सेयर निष्कासनपछि सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ । आयोजनाको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

हरेक नेपाली जलविद्युत्को मालिक बनाउने नारा दिएको सरकरका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन दोलखावासीलाई तामाकोसीको सेयरको भर्ने कार्यक्रमको उद्घाटनका लागि मंगलबार साँझ दोलखा आइपुगेका छन् । अपर तामाकोसीको सेयर संकलनलाई पर्वकै रूपमा दोलखालीहरूले मनाउन लागेका हुन् । त्यसैको तयारीका साथ मन्त्रीसहितका देशका उच्च तहले समेत विशेष प्राथमिकता दिएको हो । मन्त्री पुनले स्थानीयवासीलाई सेयर फाराम वितरण बुझेर सुरु गर्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनले सेयर संकलनको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागि पहिलो चरणमा आयोजना प्रभावित (दोलखावासी) का लागि आउँदो साउन १६ गतेदेखि भदौ १४ गतेसम्मको मिति तोकेको छ । सेयर संकलनका लागि दरखास्त फाराम जिल्लाका तोकिएका संकलन केन्द्रहरूमा सोमबार आइपुगको छ ।
सेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले ३ किसिमका फाराम संकलन केन्द्रमा पठाएको छ । क वर्गका लागि हरियो, ख वर्गका लागि निलो र ग वर्गका लागि सेतो फाराम तयार गरेको छ । स्थानीय सेयर जिल्लाको साविक लामावगर र गौरीशंकर गाविसलाई क वर्ग कायम गरिएको छ ।
साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पा–क्षमावती, नाम्दु, गैरीमुदी, भीरकोट, जफे, मालु, सहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई ‘ख’ वर्ग तोकिएको छ । भीमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका बाँकी सबै गाविस ‘ग’ वर्गमा परेका छन् ।
माथिल्लो तामाकोसी आयोजनामा यही साउन १६ गतेदेखि दोलखावासीका लागि सेयर आवेदन खुला हुँदैछ । दोलखावासीका लागि कुल १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन भएको छ । माथिल्लो तामाकोसी आयोजनामा सबै दोलखावासीले न्यूनतम ३० देखि ३ सय कित्तासम्म सेयर हाल्न पाउनेछन् ।
दोलखावासीलाई १० प्रतिशतले हुनआउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर भएको छ । धितोपत्र बोर्डले गत जेठ ३ गते आइपीओ निष्कासनका लागि अनुमति दिएको थियो । स्थानीयबाट तोकिएको सेयरमा पनि आवेदन नपुगेमा बाँकी सेयर समेत थप गरेर आम सर्वसाधारणलाई विक्री गर्ने कम्पनीको योजना छ ।
सेयर संकलनका लागि दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य कार्यालय गोंगरसहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरमा २१ वटा बैंक शाखा केन्द्र रहेका छन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले दोलखाका जनप्रतिनिधिहरूलाई सेयरबारे एक दिने प्रशिक्षण पनि बुधबार आयोजना गरेको छ । सोही कार्यक्रममा केही ठाउँमा घुम्ती संकलन केन्द्रको बारेमा पनि छलफल हुने प्रवक्ता न्यौपानेले जानकारी दिए ।
दोलखावासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालिका र विवाह भइ आएका महिलाले विवाहदर्ता प्रमाण पत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लावासी भएको नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ । तर जिल्ला बाहिर बिहे गरेर गएका चेलीहरूले पनि सेयर पाउनबाट वञ्चित हुने सेयर दिने प्रयोजनका लासि जिविस दोलखाले ३ वर्ष अघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । जिल्लाविकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौता मिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरूले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।
जिल्लावासीको बढीभन्दा बढी सहभागिता गराउनका लागि अपर तामाकोसीका लागि दोलखावासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । त्यसैगरी सेयर नपरेको रकम फिर्ता लिन परिवारको एक जनाको बैंक खाता प्रयोग गर्न सक्ने सुविधा दिएको छ ।
दिलबहादुर केसी