कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
2351

महोत्तरी-पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरीलाई जोड्ने रातु पुल सम्पन्न गर्ने सम्झौता भएको मिति आउन डेढ वर्ष बाँकी छँदै निर्माण कार्य सम्पन्न भएको छ ।
२०७४ असार ३० गते २०७६ पुस मसान्तसम्ममा पुल बुझाउनु पर्ने गरी निर्माण सम्झौता भएको थियो । ७४ मंसिरबाट काम सुरु गरेको कालिका टु दी रसुवा जेभी कम्पनीले काम सुरु गरको एक वर्षभित्रै पुल निर्माणकार्य सम्पन्न गरेको हो । निर्माणाधीन पुल साउन १५ भित्रै सञ्चालन गर्ने तयारी भइरहेको पुल निर्माण ठेकेदार कम्पनी कालिका टु दी का सुपरभाइजर राजकुमार कटुवालले जानकारी दिए ।
रातु पुल निर्माण योजनामा आएको बजेट सोही योजनामा खर्चिएका कारण र चाडपर्व बाहेकका दिनमा पनि दिन रात नभनी टुकी बालेरसमेत काम गरेकाले योजना समय अगावै सकिएको ठेकेदार कम्पनीका साइट इन्चार्र्ज कृष्ण ढुंगेलले बताए । २२५ मिटर लम्बाइ र करिब ११ मिटर चौडा रहेको उक्त पुल निर्माणमा २३ करोड ७० लाख खर्च भएको छ ।
पुलको दायाँ बायाँ करिब ३ सय मिटर सडक वर्षाको समयमा पिच गर्न नपाउने हँुदा वर्षापछि पिच गरेर बुझाउनु पर्ने भएकाले आगामी असोजमा मात्रै सडक विभाग पुल महाशाखा पूर्वीसेक्टर धरानलाई पुल बुझाउने ठेकेदार कम्पनीले जनाएको छ ।
रातु नदीमा अहिले सञ्चालन भइरहेको पुलको आसपास क्षेत्रबाट मापदण्डविपरीत ढुंगा गिट्टी र बालुवा उत्खनन् गर्दा सञ्चालनमा रहेका पुल केही वर्ष यता जोखिमपूर्ण बनेका छन् । गत वर्ष खोलामा पानीको बहाव बढ्दा दुईवटा पिलर भासिएपछि सो पुलमा बेलिब्रिज राखेर सवारी पास गराइँदै आएको छ । पुल भासिएर जीर्ण भएका कारण वर्षाको समयमा सवारी आवतजावतमा बर्सेनि समस्या हुँदै आएको थियो ।
एक वर्षमै नयाँ पुल सञ्चालनमा आउने भएपछि पुलकै कारण पुलको वारिपारि लाग्ने भीड, र यात्रुहरूले झेल्नुपर्ने समस्या हट्ने भएपछि स्थानीय खुसी छन् । हाल सञ्चालनमा रहेको जीर्ण पुलमा राखिएको बेलिब्रिजबाट सवारी पास हुन पालो पर्खनु पर्ने भएकाले मालबाहक सवारीसाधनलाई समस्या भएको थियो ।