अनुपमा खनाल
बुधवार, जेठ २३, २०७५
936

गोरखाको धार्चे गाउँपालिका–३ को उहियामा विद्युत् विस्तार गरिएको छ । चुमनुब्री गाउँपालिकाको सिर्दीबास र उहियाको सिमानामा पर्ने भालुवाङ खोलाबाट निकालिएको लघुजलविद्युत् उहियामा विस्तार गरिएको हो ।
कादुरीको आर्थिक सहयोगमा २ वर्षअघि निर्माण भएको १५० किलोवाटको उहिया सिर्दीबास लघुजलविद्युत् आयोजनाको बिजुली गत फागुन तेस्रो साताबाट गाउँमा बाल्न थालेको तातोपानी कृषि सहकारी संस्था उहियाका अध्यक्ष रने गुरुङले जानकारी दिए । अहिले गाउँका २८३ घरमा बिजुली बालिएको छ । विद्युत् विस्तारका लागि मात्रै कादुरीले करिब ६ करोड रुपैयाँ खर्च गरेको उपभोक्ता समितिले जनाएको छ । ट्रान्समिटर, मिटरबक्स, पोल, तार र प्रतिघर ६ चिम कादुरीले उपलब्ध गराएकोमा उहियावासीले पोल गाड्न खाडल खन्ने, तार टांग्ने लगायतका काममा ३० दिन श्रमदान गरे । त्यसबाहेक मर्मत सम्भार कोषमा राख्न प्रतिघर ३८ हजार रुपैयाँ संकलन गर्ने उपभोक्ता समितिले निर्णय गर्यो । त्योमध्ये हरेक घरले १५ हजार बुझाए भने प्रतिघर २३ हजारका दरले एकमुष्ट करिब ६५ लाख रुपैयाँ ब्यक्ति तथा सहकारीसँग ऋण खोजेर मर्मत सम्भार कोषमा राखिएको उपभोक्ता समितिका सदस्य दिलबहादुर गुरुङले बताए । उनले भने, “वडा, गाउँमा आउने संघसंस्थालाई सहयोग गर्न भनेका छौ, विस्तारै ऋण तिर्दै जान्छौ । बिजुलीका लागि हामीले पहिलेदेखि नै राखेका थियौ, करिब ३० लाख तिरिसक्यौं ।” अशक्त, अपांगता भएका, एकल महिला गरी ३० घरमा निःशुल्क बिजुली जोडेको उनले जानकारी दिए ।

बिजुली बलेसँगै गाउँलेको जीवनयापनमा सजिलो भएको छ । रातको समयमा गृहकार्य गर्न सजिलो भएको सिर्जना सुनारले बताइन् । उनले भनीन्, “पहिले टुकी बालेर पढ्नुपथ्र्यो, अब त सजिलो भएको छ । झलल्ल बिजुलीमा स्पस्टसँग पढ्न पाइन्छ ।” बिजुली बलेसँगै गाउँलेले राईसकुकरमा खाना पकाउन थालेकाले अब पहिलेको तुलनामा कम दाउरा प्रयोग हुने स्थानीय मनकुमारी गुरुङले बताइन् । गोरखा सदरमुकामबाट २६ कोषको दूरीमा रहेको उहियामा सडक सुविधा पुगेको छैन । नेपाल टेलिकमको सीडीएमए मोबाइलमात्रै चल्छ । तर झरिबादलमा नेटवर्कले काम गर्दैन । विकट यो गाउँमा पत्रपत्रिका पुग्दैनन्, एफएम रेडियो पनि स्पस्टसँग सुनिँदैन । यसैले सञ्चारको पहुचबाट टाढा रहेको गाउँमा बिजुली बलेपछि प्रायःजसो घरमा डिसहोम राखिएको छ ।
वडाध्यक्ष इन्द्रप्रसाद गुरुङले भने, “बिजुली आएपछि मोबाइल चार्ज गर्नदेखि टिभी हेरेर देश विदेशको खबर थाहा पाउन सजिलो भएको छ । गाउँलेहरू समाचार सुन्न उत्साहित हुन्छन् ।” स्थानीयले बिजुलीमार्फत नै आयआर्जन खोज्न थालेका छन् । उहिया गाउँ र दुङ्लामा २ वटा कुटानी पिसानी मिल सञ्चालनमा आएको छ । दुङलाकी सुनकुमारी गुरुङले ९० हजार रुपैयाँको लगानीमा कुटानी पिसानी मिल राखेकी छिन् । उहियाकी बितानी घलेले पनि मिल राखेकी छिन् । उनले भनिन्, “मैले मिल भर्खरै राखेकी हुँ । १ पाथी अन्न पिसेको २० रुपैयाँ लिन्छु । घर ब्यवहार चलाउन सजिलो हुने भएको छ ।” गाउँमा ग्रिल उद्योग, फर्निचर उद्योग पनि स्थापना गर्ने तयारी भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । बिजुली बालेवापत उपभोक्तासँग मासिक २० युनिटसम्म २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । त्यसमाथि प्रतियुनिट १० रुपैयाँका दरले शुल्क लिने निर्णय भएको छ । मिल सञ्चालन गर्नेले उपभोक्ता समितिमा ३० हजार रुपैयाँ धरौटी राखेका छन् । मासिक शुल्क भने साधारण उपभोक्ता सरह नै कायम गरिएको उपभोक्ता समितिका सदस्य गुरुङले बताए । सिर्दीबासको जगत खोलामा पावर हावस राखेर निकालिएको बिजुली यसअघि नै सिर्दीबासका ४ सय घरमा बालिएको थियो । अहिले उहियासहित लार्केपासको रुटमा पर्ने जगत, ठाडोभर्यांग, यारु, दोभानका करिब ४ सय घरमा लघुजलविद्युत्को बिजुली विस्तार गरिएको हो ।


सातामा धेरै पढिएको