रासस
बुधवार, जेठ २३, २०७५
3092

 राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौंडा सडक आयोजनाको पूर्वी खण्ड निर्माणको काम तीव्र रूपमा अघि बढेको छ ।
भित्री मधेसलाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमानसम्मका विभिन्न भागमा कलभर्ट, कज्वे र पुलपुलेसा निर्माण भइरहेको छ । डेढवर्ष अघि निर्माण कार्य सुरु भएको वैकल्पिक उक्त राजमार्गको करिब ३५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाट उदयपुरले जनाएको छ ।
धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलोमिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेसन चौडाइ भएको कालोपत्रेयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।
घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निर्माणको कार्यले गति लिएको निमार्णाधीन धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वीखण्ड गाईघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले जानकारी दिए । आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । मुआब्जाको निवेदन दिन छुटेकाको लागि निवेदन दिन र लगत कट्टा गर्न सुरु भइसकेको छ र केही दिनभित्रै मुआब्जाको विषय टुंगिने उनले बताए ।
उदयपुरतर्फ निर्माणकार्यमा खासै अवरोध नभए पनि सिन्धुलीतर्फ भने विद्युत् प्राधिकरणले विद्युत्का पोल हटाउन ढिला भएको छ । सडक योजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेञ्चरले सात अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
राजमार्गले उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने जनाएको छ भने सिन्धुलीतर्फ दूधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटांैडासम्म पुग्ने छ ।
वैकल्पिक मार्गको निर्माणकार्यमा कुनै अवरोध नआए निर्धारित समयमै निर्माण सम्पन्न हुने स्थानयवासीको कथन छ । आफ्नै घर आगनमा राजमार्ग निर्माण सुरु भएसँगै स्थानीयवासी हर्षित भएका छन् ।