कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५
1508

कर्णाली करिडोरअन्तर्गतको लालिघाटदेखि बाजुरा सीमासम्मको ४० किलोमिटर सडक खण्ड यसै आवमा नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गर्ने भएको छ । ४० किमिट सडकको निर्माणकार्य पूरा भएकाले सडक खण्ड हस्तान्तरण गर्न लागेको हो ।
कालिकोटको खुलालु, बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किमि सडकमध्ये कालिकोट सडक खण्डको ४० किमि सडक खण्डको ३८.५ किमिको ट्रयाक खोल्ने कार्य पूरा भएको छ ।
कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमा जमुनाहसम्म ५३० किमि सडक निर्माण हुनेछ । कालिकोट सडक खण्डको ४० किमि सडक खण्डमध्ये ३८.५ किमि सडकको निर्माणकार्य पूरा भएको र यसै आर्थिक वर्षमा नै सडक विभागलाई हस्तारण गर्न लागिएको नेपाली सेना कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले बताए । “हामीले कर्णाली करिडोरअन्तर्गतको कालिकोट सडक खण्डको निर्माणकार्य पूरा गरेका छौं ।” उनले भने, “यसै आवमा सडक विभागलाई बुझाउने तयारी भएको छ ।”
कालिकोट सडक खण्डको ४० किमिमध्ये खुलालुदेखि लालिघाटसम्मको १.५ किमि कडा चट्टान भने नेपाली सेनाले निर्माण गर्न बाँकी छ । निर्माणकार्य बाँकी रहेको खुलालुदेखि लालिघाटसम्मको सडक निर्माणमा खुलालुको पक्की पुल बन्न केही समय लाग्ने र जितेगडा बजार, जितेगडामा हालिएको फेरी, झोलुंगे पुलमा असर पर्ने भएकाले आगामी आवको कात्तिकदेखि निर्माणकार्य सुरु गर्ने करिडोर सडक निर्माणका प्रमुख कार्कीले बताए । “खुलालुको पक्की पुल नबनेका कारण निर्माणमा ढिलाइ भएको हो,” उनले भने, “सडक निर्माणका लागि जितेगडाको बजार, फेरी र झोलुंगे पुललाई असर हुने भएकाले आगामी आवबाट निर्माणकार्य थाल्ने तयारी गरेका छौं ।”

स्तरोन्नतिमा समस्या
नेपाली सेनाले कर्णाली करिडोर सडक विभागलाई हस्तान्तरण गर्ने तयारी गरेको भए पनि राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले नेपाली सेनालाई जिम्मा दिएको सडकमा स्तरोन्नति लगायतका कसैमा बजेट नछुटाएको समस्या आउने देखिन्छ ।
सडकको ट्रयाक खुले पनि हस्तान्तरण हुन लागेको ३८.५ किमि सडक खण्डमध्ये १० किमि सडक खण्ड प्राविधिक हिसाबले पनि जोखिम भएकाले नेपाली सेनाले हस्तान्तरण अघि मापदण्डअनुसार बनाउन जरुरी रहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद अधिकारीले बताए । “हस्तान्तरण हुन लागेको सडकमध्ये १० किमि सडक खण्ड निकै कठिन देखिन्छ,” उनले भने, “हस्तान्तरण हुनु अगावै यस विषयमा छलफल गरिन आवश्यक छ ।”

सडक निर्माणमा प्रगति
नेपपाली सेनाले जिम्मा पाएको कर्णाली करिडोरको १४५ किमिमध्ये कालिकोटको ३८.५ किमि, बाजुराको ४५ किमि र बाँकी हुम्लाको सडक खण्ड खोलिसकेको छ ।
वि.सं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई सो सडकको ट्रयाक खोल्ने जिम्मा दिएको थियो । हुम्लाको सिमिकोटसम्मको १९६ किमिमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खोन्नेछ । बाँकी ५१ किलोमिटर सडकखण्डलाई सडक विभागले जिम्मा लिएको छ ।
चीन जोड्ने सडक
यो सडक भारतको रुपैडिया नाकाबाट सुरु भई सुर्खेत, कालिकोटको खुलालु, लैफु, बाजुराको गोत्री, जगन्नाथ, बाँधु र रुगिन हुँदै हुम्लाको मैला सुरु भएर सिमिकोट हुँदै छिमेकी राष्ट्र चीनको तिब्बतसँग सिमानासम्म सडकखण्ड जोडिने छ ।

समृद्धिको मुख्य आधार
कर्णाली करिडोरलाई यो प्रदेशको समृद्धिको आधारको रूपमा हेरिएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा यहाँको विकासले पनि गति लिने अपेक्षा यहाँका नागरिकले गरेका छन् । कर्णालीको विकासको मुख्य पूर्वाधार सडकको सपना साकार हुने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए । “कर्णाली क्षेत्रको विकासको मुख्य ढोका कर्णाली करिडोर नै हो,” उनले भने, “कर्णाली करिडोरमा गाडी गुडेपछि गरिबीको रेखामुनि रहेका हजारौं नागरिकलाई राहत मिल्ने छ ।”
कर्णाली करिडोर निर्माण पूरा भएपछि विकासका अन्य पूर्वाधारको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण गरी स्थानीयको आर्थिक अवस्थामा सुधार आउने कांग्रेस कालिकोटका सहसचिव दमनबहादुर शाहीले बताए । “चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो ।” यसको कुल लम्बाइ ५३० किमि छ । उनले भने, “सडक निर्माण सम्पन्न भएपछि भारतबाट हुम्लाको मानसरोवर पुग्ने पर्यटकका लागि सहज हुनेछ ।”
-रमेश रावल