कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५
1152

जताबाटो उतै ब्यापार भनेझैं धनकुटाका गाउँगाउँसम्म सडक सञ्जाल विस्तार र ब्यवस्थित हुँदै गएपछि गाउँका केन्द्र पनि बजारमा परिणत हुँदै गएका छन् । ढुवानी सुविधाका कारण पछिल्ला वर्षमा विकेन्द्र्रिकृत बनेको बजार ब्यवस्थाले गाउँको दैनिकी सहजमात्र बनाएको छैन, यसले स्थानीय अर्थतन्त्र पनि चलायमान बनाएको छ ।
धनकुटाको चौबिसे क्षेत्रका डाँडाँबजार, राजारानी, मौनाबुधुक र छनम्बर बुधबारे भेंडेटारबाट पाँचथर हुँदै इलाम जोड्ने सडक विस्तार र विकास हुँदै गएपछि ब्यापारिक केन्द्र बन्दै गएका स्थान हुन् यी । त्यस्तै धनकुटा हुँदै भोजपुरसम्म यातायत चल्न थालेपछि पाख्रिबास, महालक्ष्मी नगरपालिकामा पर्ने जितपुर, लेगुवा र दमारका लगायतका स्थानमा समेत चहलपहल बढेको महालक्ष्मी नगरपालिका–५ का शिवकुमार तुम्वाले बताए । उनले भने, “पहिला बजार भने कै धरान थियो बाटो विस्तारसँगै धनकुटा भयो अहिले गाउँगाउँमा सडक पुगे, गाउँमा बजार पुगे गाउँका केन्द्र स–साना बजारमा विकास भए ।” थलथले, छिन्ताङ र त्रिवेणीघाट सहिदभूमि गाउँपालिकामा सडक सञ्जाल ब्यवस्थित भएसँगै यी स्थानसमेत व्यापारिक केन्द्र बन्दै गएका छन् । त्यस्तै छथरजोरपाटी गाउँपालिका चुलाचुली, काजिमाने पनि विस्तारै बजार बन्दै गएका छन् । तत्कालीन जिल्ला विकास समिति, गाविस, विभिन्न सरकारी र गैरसरकारी परियोजना तथा हालै कार्यान्वयनमा आएका स्थानीय तहमार्फत खनिएका सडकले धनकुटाका अधिकांश ग्रामीण केन्द्रसँग आपसी सम्पर्क जोडिइसकेको छ । नयाँ ठाउँ खोज्दै ब्यापारिक र ब्यावसायिक ब्यक्ति तथा समूह, संघसंस्थाका साथै निजी लगानीका बैंक र वित्तीय संस्था पनि गाउँगाउँ पुगेका छन् ।
मोटरबाटो पुग्नुअघि भरिया र खच्चडबाट सामान ढुवानी गरी स्थानीयको आवश्यकता धानिरहेका स–साना बजारको समग्र ब्यापार चाँहि पहिले भन्दा बाँडिएको व्यापारी बताउँछन् । कतिपय ब्यापारी अवसरको खोजीमा नयाँ सडकका अघिअघि पुग्ने गरेका छन् । सडक सुविधाले दुर्गममा यातायात र ढुवानी त सहज भएकै छ, यसबीच गाउँले सुविधा र जीवनशैलीमा समेत धेरै परिवर्तन आएको महशुस स्थानीयले गरेको भोजपुर र धनकुटाको सिमानामा रहेको पुरानो स्थानीय ब्यापारिक केन्द्र लेगुवामा ब्यापार गर्दै आएका व्यावसायी तेजप्रसाद पौडेल बताए । उपभोक्ता र ग्रामिण बजारसँगको साइनो जोडेका यस्ता सडकको मर्मतसंभार, संरक्षण र स्तरोन्नतिको दायित्व उपभोक्ता र स्थानीय सरकारलाई छ । सडकसँगै पुग्ने बजारलाई स्वस्थ र विविधतायुक्त बनाउन सके ग्रामीण भेगका बासिन्दाले समय र पैसा खर्चेर पहिलाझै सदरमुकाम धाउनु पर्ने बाध्यता सधैका लागि अत्य हुने थियो ।

विकास घिमिरे


सातामा धेरै पढिएको