नीरज पिठाकोटे
मंगलबार, जेठ २२, २०७५
735

वीरगन्ज- भर्खरै सञ्चालनमा आएको वीरगन्जको अलौ सिर्सियास्थित एकीकृत भन्सार चाँज चौकीदेखि सुक्खा बन्दरगाह (ड्राईपोर्ट) सम्मको करिब सातसय मिटर सडकमा दोहोरो विवादका कारण निर्माणमा ढिलाइ भएको छ ।
एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म जोड्ने सडक निर्माणका लागि ड्राईपोर्टबाट करिब सात सय मिटरको दूरी छ । सोही सात सय मिटर दूरीको सडक निर्माणमा मुआब्जा वितरण नहुँदा स्थानीयको अवरोध र विद्युत्को पोल नहटाएर सरकारी कार्यालयकै अवरोधले काम गर्न समस्या भएको हो । वीरगन्जदेखि ठोरी गाउँपालिका–४ को चमडी होल पुलसम्मको ३० किमिको हुलाकी सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनलाई ड्राईपोर्टदेखि आईसीपी जोड्ने ६ लेन सडक निर्माण गर्न दबाब बढेपछि उसले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको मौखिक निर्देशनमा निर्माण सुरु गरेको छ । तर, मुआब्जा समस्या समाधान नभएको र विद्युत् प्राधिकरणले विद्युत् पोल नहटाइ दिँदा निर्माणमा अवरोध उत्पन्न भएको पप्पु कन्स्ट्रक्सनका निर्देशक अमित रौनियारले बताए ।
हुलाकी सडक निर्माणको सम्झौताअनुसार दुई लेनको मात्रै सडक निर्माण गर्नुपर्ने भए पनि ड्राईपोर्ट र आईसीपीसँग जोडिने बीचको सात सय मिटर सडक ६ लेनको बनाउनु पर्ने दबाब पप्पुमाथि परेको छ । हुलाकी सडक पनि पर्ने भएकाले वैशाख २२ गते वीरगन्ज आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको मौखिक आदेशले पप्पु कन्स्ट्रक्सनले ६ लेनकै सडक निर्माण सुरु गर्नु परेको रौनियारको भनाइ छ । उनले भने, “हुलाकी सडकमा दुई लेनको मात्रै सम्झौता छ । भारतीय परामर्शदाताले पनि सोहीअनुसारको डिजाइन पास गरेको छ । मन्त्रीज्यूको मौखिक आदेशमा मात्रै काम सुरु गरेका छौं । त्यसमा पनि विद्युत् पोल हटाइएको छैन, मुआब्जा समस्याका कारण घरहरू भत्काइएको छैन, सडकमा मन्दिर र चौतारा पनि भत्काउनु पर्नेछ । त्यसैले निर्माणमा समस्या भएको छ ।” अर्कोतर्फ हुलाकी निर्माणको परामर्शदाता कम्पनीले दुई लेनभन्दा बढीको सडक निर्माणको अनुमति नदिएकाले ६ लेनको सडक निर्माण गर्न भारतको परराष्ट्र मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने कानुनी झण्झट रहेको उनले बताए । आईसीपीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सात सय मिटर मन्त्री महासेठले १५ दिनको समयावधि दिएर निर्माण गर्न निर्देशन दिएको भए पनि सरकारी पक्षकै उदासिनताले काममा अवरोध भएको छ । सडक निर्माण गर्नुपर्ने दबाब बढेपछि हुलाकी सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले निर्माण सुरु गरेको हो । ६ लेनको व्यापारिक मार्गको ठेक्का पनि उसैले पाएको पनि त्यसको सीमा ड्राईपोर्ट चोकसम्म मात्रै रहेको निर्देशक सुमित रौनियारको भनाइ छ ।

आईसीपी र ड्राईपोर्टबीचको सात सय मिटर लम्बाइको सडकमा राखिएको विद्युतीय पोल । तस्बिर ः कारोबार