अनुपमा खनाल
सोमवार, जेठ २१, २०७५
1282

उत्तरी गोरखाको यारुबगरमा भीर खोपेर बनाइएको नेपालकै पहिलो क्यान्टिलिभर पुलले सो क्षेत्रका बासिन्दाको जीवनयापन सहज भएको छ ।
मनास्लु पदमार्गअन्तर्गत पर्ने धार्चे गाउँपालिका–१ केरौंजाको यारुबगरमा बूढीगण्डकी तर्नका लागि क्यान्टिलिभर बनाएपछि उत्तरी गोरखाका बासिन्दालाई राहत मिलेको हो । पुल निर्माण भएसँगै तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिकाका आठ हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । त्यहाँका बासिन्दाका लागि दैनिक उपभोग्य सामान तल्लो क्षेत्रबाट खच्चडमा बोकाएर लानुपर्छ । यारुबगरमा क्यान्टिलिभर नहुँदा बूढीगण्डकीमा काठको फड्के थियो । खच्चड गोठालो टेके थापा मगरले भने, “पहिले यहाँ काठको फड्केमा चिप्लिएर दिनहुजसो खच्चड बूढीगण्डकीमा खस्थ्यो, अहिले त्यस्तो समस्या छैन ।” उत्तरी गोरखामा सामान ढुवानीको एकमात्र साधन खच्चड नै हो । एउटै खच्चडको १ लाख २० हजार रुपैयाँ पर्छ । बूढीगण्डकी तर्न नसकेर खच्चड मर्ने, घाइते हुनेजस्ता समस्या अन्त्य भएको गोठालो मगरले बताए । पहिले फड्के तरेर यारुबगर पार गर्न करिब आधा घन्टा लाग्नेमा अहिले १० मिनेटमा पार गर्न सकिने उनको अनुभव छ । यारुबगरको क्यान्टिलिभर पुलमा हिँडदै गरेका छेकम्पारका नुर्बु दोर्जेले गोरखा सदरमुकामसम्म पुग्न र दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन सजिलो भएको बताए । उनले भने, “पहिले खोलामा फड्को तर्न पथ्र्यो । वर्षामा त झन गाह्रो थियो । हामी ज्यानको बाजी लगाएर हिँड्नुपथ्र्यो, कति घाइते हुन्थ्ये, पर्यटक पनि मर्थे, तर अहिले सजिलोसँग वारपार गर्न सकिन्छ ।” यारुबगरकै होटल ब्यवसायी शेरबहादुर घलेका अनुसार मनास्लु पदमार्गमा हिँड्ने पर्यटकलाई पनि सजिलो भएको छ । उनले भने, “लार्केपास जाने रुट यही हो । पर्यटकहरू मेरो होटलमा बसेर फड्के कसरी तर्ने भन्दै जिल्ल पथ्र्यो, कति त बूढीगण्डकी तर्न नसकेर तातोपानीबाट उहिया हुँदै घुमाउरो बाटो पनि हिँड्थ्यो । त्यो बाटो लामो थियो । अहिले त भित्तामा खोपेको पुल देखेर पर्यटक नै दंग पर्छन्, खुसी हुदै फोटो खिच्छन् ।” यारुबगरमा हिउँद र वर्षामा बूढीगण्डकी कहिले छेउ र कहिले कुनो हुँदै बग्थ्यो । नदीले जुन बाटो समायो त्यहीं फडके हाल्नुपथ्र्यो । अब त्यो बाध्यता पनि हटेको उनले बताए । यूकेएडको ३ करोड ७५ लाख रुपैयाँको आर्थिक सहयोगमा ०७३ साल वैशाखबाट बनाउन सुरु गरेको पुल २ महिनामा निर्माण सम्पन्न भएको थियो । तर निर्माण कम्पनीले २०७४ माघमा मात्रै स्थानीय तहलाई हस्तान्तरण गरेको हो । स्विट्जरल्यान्डको एएफ–आईटेको लिमिटेडले डिजाइन तथा निर्माण व्यवस्थापन गरेको क्यान्टिलिभरको लम्बाइ १९५ मिटर र १.६ मिटर चौडाइ छ । पुल बनाउने जिम्मा लिएको नेपाल बजार विकास कार्यक्रमका अनुसार क्यान्टिलिभर बनाउन ३८ हजार किलो स्टिल प्रयोग गरिएको छ । क्यान्टिलिभरको स्टिल संरचनालाई चट्टानमा खोपेर विशेष बोल्टले जोडिएको छ । यसको आयु कम्तीमा ५० वर्षसम्म भए पनि नियमित मर्मत–सम्भार गर्नुपर्ने प्राविधिकहरू बताउँछन् । नेपालको दुर्गम पहाड र हिमालका खोंचमा यो प्रविधि निकै उपयुक्त मानिएको छ ।