कारोबार संवाददाता
सोमवार, जेठ २१, २०७५
2001

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालकै ठूलो फोहोरबाट ग्याँस बनाउने बायोग्याँस विश्वकै नमुना परियोजना (प्रोजेक्ट) को उद्घाटन गरेका छन् ।
नवलपरासीमा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले निर्माण गरेको परियोजनामा पुगेर मन्त्री पुनले उद्घाटन गरेका हुन् । क्लाइमेट इन्भेस्टमेन्ट फन्ड (सीआईएफ)ले विश्व बैंकमार्फत गरेको आर्थिक सहायताअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)को अनुदानमा निजी क्षेत्रले निर्माण गरेको वायोग्याँस परियोजना विश्वकै उत्कृष्ट नमुना परियोजनाको रूपमा छनोट भएको छ । सीआईएफले विश्वमा लगानी गरेका तीन सय परियोजनामध्ये १० उत्कृष्ट नमुनामध्ये एक परियोजनाको रूपमा छनोट भएको छ । सो नमुना परियोजनाको उद्घाटन गर्दै मन्त्री पुनले ठूलाठूला बायोग्याँसका परियोजना अन्य क्षेत्रमा समेत विस्तार गरेर ग्याँसको परनिर्भरता अन्त्य गर्नुपर्ने बताए । उनले वायोमास परियोजनाले फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने भएकाले सरकारले वायोमास परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

चार वर्षअघि निर्माण भएको ३७ सय ५० घनमिटरको बायोग्याँस प्लान्टबाट एक वर्षअघि निर्माण सम्पन्न भएको थियो । सरकारको ५ करोड बराबर अनुदानसहित सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा २२ करोड लगानीमा निर्माण भएको प्लान्टबाट दैनिक १४७ वटा ग्याँस सिलिण्डर अर्थात् एलपीजी बराबर गणना गर्दा १२० सिलिण्डर उत्पादन हुने प्रालिका कार्यकारी निर्देशक अभिरत अग्रवालले जानकारी दिए । उनका अनुसार, प्लान्टबाट १ हजार ५ सय केजी मिथेन ग्याँस उत्पादन गरी नवलपरासी र भैरहवाका ५१ वटा विभिन्न होटल, उद्योगहरूमा वितरण गरिएको छ । गाईको गोबर, कुखुराको सुली, चिनी मिलको प्रेस मडलगायतका फोहोरबाट उत्पादन हुने ग्याँसमध्ये ६० प्रतिशत मिथेन ग्याँस र करिब ४० प्रतिशत कार्बनडाइअक्साईड उत्पादन हुने कम्पनीले जनाएको छ । दैनिक ३६ टन कच्चा पदार्थ चाहिने प्लान्टबाट दैनिक १२ टन फोहोर उत्पादन हुने गरेको छ ।
प्लान्टले मात्र वार्षिक रूपमा ४३ हजार ८ सय भारतबाट आयातित एलपीसी ग्याँस विस्थापन गरेर ६ करोड २ लाख रुपैयाँ बराबर फाइदा पुगेको एईपीसीले जनाएको छ । जर्मन प्रविधिमा आधारित वायोग्याँस प्लान्ट निर्माण गरेको परियोजना वायोग्याँस शुद्धीकरणका लागि मेरनेन प्रविधि उपयोग गर्ने दक्षिण एसियाकै पहिलो हो ।

 


सातामा धेरै पढिएको