रेशमराज रोकाया
बुधवार, जेठ ९, २०७५
1001

हुम्लाको सिमिकोट गाउँपालिकाअन्तर्गतको सदरमुकाम सिमिकोटमा धमाधम सडक फराकिलो र ढल निर्माण कार्यले तीव्रता पाएको छ । असार नजिकिँदै गर्दा निर्माण कार्यले गति लिएको हो । हुम्लाको एकमात्र सहरी क्षेत्रमा पर्ने सिमिकोटका हरेक गल्ली र चोकमा यतिखेर ढल र सडक फराकिलो बनाउने कार्य भइरहेको छ ।
यसअघि निर्माण भएका ढल र सडक निर्माण गर्ने क्रममा बिग्रेको र चालू अवस्थामा नभएका कारण सदरमुकाम सफा राख्न गाउँपालिकाले स्थानीय उपभोक्ता समितिलाई ढल निर्माणका लागि जिम्मा दिएको सिमिकोट गाउँपालिकाका कार्यकारी प्रमुख अर्जुन दर्जीले बताए । सिमिकोटको तीनधारादेखि शिवमन्दिरसम्म र दक्षिणको अस्पतालद्वारसम्मको करिब ३ किमिको दूरीमा २ करोड ४० लाख बजेटमा उपभोक्ताले द्रुत गतिमा ढल र बाटो विस्तार कार्य गरिरहेका छन् ।

सडक ७ मिटरको चौडाइमा बनाउन ८ वटा उपभोक्ता समिति क्रियाशील छन् । सिमिकोट बजारमा अव्यवस्थित रूपमा बनेका घरले बाटो साँघुरो भए पनि घर अगाडि बाटो फराकिलो बनाउन ७ कोठे भवन भत्काउन आफू अगाडि बढेको स्थानीय अदानसिँह रावतले बताए । मेरो घर अगाडि सडक सहज बनाउनका लागि मेरो आधा घर नै भत्केको भए पनि आफूले खुसीले घर भत्काएको र बाटो फराकिलो बनाउन अनुमति दिएको रावतको भनाइ छ । बाटो मात्र नभएर घर अगाडि ढलसमेत बन्ने भएपछि सरसफाइमा सहज हुने र सुन्दर सिमिकोट बनाउने कार्यमा आफू लागिपरेको स्थानीय लालबहादुर रावतले बताए । घर अगाडिको २ मिटर जग्गा बाटो निर्माणमा जाने भए तापनि आफ्नो गाउँ विकसित हुन लागेको खुसीमा सडक र ढल निर्माणमा लागेको रावतको भनाइ छ ।
गाउँपालिकाको कार्यालयले तत्कालीन सिमिकोट गाउँ विकास समिति र जिल्ला विकास समितिले निर्माण गरेको ढल हाल बाटो फराकिलो बनाउने क्रममा काम नलाग्ने भएपछि पुनः ढल निर्माण गर्नुपर्ने भएकाले दोहोरो लगानी गर्नुपर्ने अवस्था आएको छ । पुरानो ढलमा प्रयोग भएका स्लापलाई प्रयोगमा ल्याई केही लागत घटाउने कार्यमा सिमिकोट गाउँपालिकाको कार्यालय लागिपरेको छ ।
हुम्लाको नमुना गाउँपालिका बनाउनका लागि काम भइरहेको छ । हरेक चोक र बाटोमा सोलाररहित स्ट्रिट ल्याम्पसमेत जडान गर्न लागिएको छ । त्यसका लागि टेण्डर प्रक्रिया अगाडि बढी केही दिनमै बत्ती जडान गरिने भएको छ । ३० लाख बजेटमा सिमिकोटका चोक र गल्लीमा बत्ती जडान गरिँदा आपराधिक क्रियाकलाप र बाटो हिँड्ने बटुवालाई समेत सहज हुने भएको छ ।
असार मसान्तसम्म सम्पन्न हुने गरी हाल उपभोक्ता समिति रातदिन काममा लागिपरेका छन् । बाटो फराकिलो र ढल निर्माण गरिँदा बटुवालाई धुवाँ र धुलोले हैरान पारेको भए तापनि गाउँमा विकास हुन लाग्दा सबै दंग छन् । सिमिकोटमा गुड्ने ट्रयाक्टरलाई ढुँगा र निर्माण सामग्री ओसार्न भ्याइनभ्याई छ । बाटो बनेपछि हाल एक लेनको बाटो डबल लेन हुँदा गाडी चलाउनसमेत सहज हुने भएको छ । हाल सिमिकोटमा ५ वटा ट्रयाक्टर र ५ वटा बोलेरो जिप चल्न थालेका छन् ।