कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५
764

मध्य पहाडी लोकमार्गको विकल्प मानिएको बेनीदेखि ढोरपाटन जोड्ने सडकको ट्रयाक निर्माणको कामले तीव्रता पाएको छ । लोकमार्गको बागलुङ–बुर्तीवाङ खण्डको विकल्प मानिएको यस सडकको बेनीदेखि मुनासम्म ट्रयाक खोल्ने काम सकिएको छ ।
दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको आयोजनाका प्राविधिक कृष्ण रायले जानकारी दिए । जिल्ला समन्वय समितिले कृषि सडक आयोजनामार्फत वि.सं २०६७ मा दरवाङबाट सुरु गरेको सडकको ट्रयाक निर्माणको काम बिम–ताकम हँुदै मुनासम्म पुगेको हो । सडक डिभिजन कार्यालय बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किमि दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम सुरु गरेको छ । थप सात किमि विस्तार गरेपछि लुलाङ हँुदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ । आठ वर्षको अवधिमा चार करोड ७५ लाख रुपैयाँ लगानी भएको छ ।
जिल्ला समन्वय समितिले यस वर्ष विनियोजन गरेको ७२ लाख र गत वर्षको ६० लाख रुपैयाँ बजेटबाट मालिका गाउँपालिका ७ बिमको सिमानामा रहेको धौलागिरि गाउँपालिका ७ बगरदेखि ताकमसम्म पाँच किमि सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताए । “चट्टानी पहाड छिचोल्दै पाँचदेखि सात मिटर फराकिलो सडक बनाएका छौं,” अध्यक्ष सुवेदीले भने, “बिम र ताकमको सिमानामा रहेको म्याग्दी खोलामा मोटरेबल पुल बनेपछि यो सडकमा सिधा सवारी सञ्चालन गर्न सकिन्छ ।”
ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्रयाक खोल्ने काम यसअघि नै सकिएको थियो । धौलागिरि गाउँपालिकाले यस वर्ष विनियोजन गरेको २५ लाख रुपैयाँ बजेटबाट शिवरात्रीखोलाको पहाडमा ट्रयाक खन्ने काम सम्पन्न भएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ ७ नम्बर वडा ताकमका अध्यक्ष कलानिधि सुवेदीले बताए ।
रणनीतिक महत्वको यस सडकको बेनीदेखि कालोपत्रे सुरु भएको र मालिका गाउँपालिका–७ को शिवरात्रीखोला तथा साउँबोट र धौलागिरि गाउँपालिका–७ बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माणको तयारी भएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए ।
शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत् आयोजनाले तीन किमि सडक निर्माण गरेको छ । हाल दरवाङदेखि धारापानी ताकम हुँदै मुना जोड्ने सडक प्रयोगमा छ । पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको यस सडकलाई ढोरपाटनसम्म जोडेपछि छोटो हुने भएकाले मध्यपहाडी लोकमार्गको विकल्प बन्ने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तीवाङ हँुदै ढोरपाटन जोड्ने सडकभन्दा करिब एक सय किमि कम दूरीको हुने यो सडकले पश्चिम म्याग्दीको पूर्वाधार, आर्थिक, पर्यटन, जलविद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
-सन्तोष गौतम