कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५
1156

धार्चे विभिन्न हिमश्रृखंलासहित मनमोहक डाँडाकाँडा, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताले भरिपुर्ण भएकोले गाउँपालिकाको विकासमा पर्यटनको भूमिका उल्लेख्य हुने स्थानीय सरोकारवालाले बताएका छन् । उनीहरुले पर्यटन प्रबद्र्धनका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । पर्यटनमार्फत् गाउँपालिकाको समृद्धि हुने आशा उनीहरुले गरेका छन् ।
नेपाल पर्वतारोहण संघको सहयोगमा लाप्राकमा आयोजित कार्यक्रममा सहभागिले गाउँपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा स्थानीयले भुकम्पपछिको पुननिर्माणलाई पर्यटन प्रबद्र्धनको अवसरका रूपमा लिन आग्रह गरे ।

उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले स्थानीय संस्कृति, पर्यापर्यटन, धार्मिक क्षेत्रले धार्चेमा पर्यटक लोभिन सक्ने बताउँदै लाप्राकमा एनआरएनले बनाउने एकीकृत बस्तीमा पनि पर्यटकले रुची राख्ने बताए । उनले पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरे । उनले धार्चेमा केन्द्रीय प्रसारणलाइनको बिजुली बिस्तार गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।
प्रदेश नं ४ का पूर्वाधार मन्त्री रामशरण बस्नेतले प्रदेश सरकारले पर्यटन प्रबद्र्धनका लागि होमस्टे सञ्चालन गर्ने नीति बनाएको बताए ।
इमान आरोही पार्क बन्ने
लाप्राकको भुमेडाडाँमा ३ करोड रुपैयाँ लागतमा इमान आरोही पार्क बन्ने भएको छ । पार्कको उर्जामन्त्री वर्षमान पुनले शिलान्यास गरे । पश्चिमाञ्चल क्षेत्रबाट नै गुरुङ समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गरेका लाप्राकका इमान गुरुङको स्मृतिमा पार्क बनाउन लागिएको हो । उनको मनाङको कंगारु हिमाल आरोहणका क्रममा ज्यान गएको ा वडा अध्यक्ष राज गुरुङले बताए । सो क्रममा उनीसँगै ८ जनाले ज्यान गुमाएका थिए । पार्कमा हिमालको नमुना स्वरुप रकहिल पनि बनाउने तयारी छ । साथै गुरुङ समुदायको माने पनि निर्माण गरिने डिजाइन तयार भएको छ । गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा पार्कले सघाउने अध्यक्ष सन्तबहादुर गुरुङले बताए । एनआरएनएले गुप्सीपाखामा भुकम्पपीडितका लागि बनाइरहेको एकीकृत बस्ती नजिकै पार्क बन्ने गुरुङले बताए ।
इपिसेन्टर ट्रेल
२०७२ सालको भूकम्पको केन्द्रविन्दू वारपाकलाई भूकम्प प्रभावित अन्य जिल्लाहरुसँग जोड्ने गरि पदमार्गको विकास गरिने भएको छ । इपिसेन्टर ट्रेल नाम दिएर प्रभावित १८ जिल्लालाई पदमार्गबाट जोड्ने पहल थालिएको हो । धार्चे मनासलु पर्यटन विकास समितिको पहलमा पदमार्गको खोजी र प्रबद्र्धनको काम शुरु भएको हो । समुद्री सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको धार्चेमा भूकम्पमा ज्यान गएकाको स्मरणमा सभा गरी पदमार्ग खुलेको पनि जानकारी गराइएको समितिका अध्यक्ष साने गुरुङले बताए ।
ट्रेल अन्तर्गत स्वाँराको सीता गुफा, ठोटनेरी, सुन्धेखर्क ,लाप्राक, गुम्दा हुँदै लापुबेंसीबाट गोरखा बजारसम्मको मार्ग तयार भएको छ । पहिले गोरखाभित्रै पदमार्गको विकास गरि त्यसलाई क्रमशः भुकम्प प्रभावित अरु जिल्लासँग जोड्दै लैजाने योजना छ । समितिकै पहलमा बारपाक, लाप्राकहुँदै सिर्दिबास जोड्ने गरी पदमार्ग सञ्चालनमा छ । मनासलु पदमार्ग भएर नेपाली सेनाले चीन जोडन सडक निर्माण थालेको छ । नयाँ विकास गरिएको पदमार्गलाई मनासलु पदमार्गको विकल्पका रुपमा हेरिएको छ । भूकम्पले नयाँ पदमार्गको विभिन्न ठाउँमा पहिरो गएपछि जोखिमपूर्ण बनेपछि अहिले भने सुचारु भैसकेको छ ।
-अनुपमा खनाल