कारोबार संवाददाता
शुक्रवार, बैशाख १४, २०७५
1276

काम अधूरो छोेडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि लामोसाँघु–जिरी सडक समयमा नसकिने भएको छ । स्तरोन्नति गरेर काम पूरा गर्नु पर्ने बेलामा एक महिनादेखि व्यवसायी सम्र्पकविहीन बसेका छन् । सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्म २५ किलोमिटर सडक खण्डको निर्माण गर्ने जिम्मा लिएको सुनौलो खिम्ती निर्माण कम्पनी एक महिनादेखि सम्र्पमा छैन ।
भारतीय एक्जिम बैंकको लगानीमा सडक चौडा बनाउने काम शुरु भएको हो । खाडीचौरदेखि मुडेसम्मको २५ किलोमिटर सडक निर्माणको जिम्मा लिएको कम्पनी काम छाडेर बेपत्ता भएका सडक विस्तार आयोजना प्रमुख केदार नेपालले बताए । खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्तीका सञ्चालक धर्मराज भण्डारी मुख्य सम्पर्क व्यक्ति हुन् । उनै भारतीय निर्माण कम्पनी सिमान्चल र नेपाली कम्पनी गौरीपार्वतीले साझेदारीमा काम गर्दै थिए । तर उनी अहिले सडकको सम्पूर्ण काम छाडेर सम्पर्कविहीन छन् । करिब ५० प्रतिशत कार्य सम्पन्न गरेपछि सुनौलो खिम्ती गायब भएको आयोजनाको भनाइ छ । “न निर्माणस्थलमा भेटिन्छ, न फोन उठ्छ न त सम्पर्क गर्न नै आउँछ,” आयोजना प्रमुख नेपालले भने, “उक्त कम्पनीलाई चाँडो काम सक्न चेतावनीसहित १० पटक पत्राचार गरिसक्दा पनि काम अघि बढेन, अब नयाँ प्रक्रियामा जाने तयारी थालेका छौं ।”

लामोसाँघुदेखि चरिकोटसम्मकै ५५ किलोमिटर सडक खाल्डाखुल्डी, हिलो र धुलाम्मे छ । सडककै अवस्था जर्जर भएकोले दैनिक हजारौं यात्रुहरुले सास्ती भोग्दै आएका छन् । दोलखासहितका राजधानीबाट उत्तरपूर्व जिल्लाको लागि लामोसाँघु–जिरी सडक ‘लाइफ लाइन’ नै मानिन्छ । लामो सयमदेखि बिग्रिएपछि आवातजावत निकै सास्तीपूर्ण बनेको छ । सडकको अवस्थाकै जिल्लामा पर्यटक संख्या घटेको व्यवसायी गुनासो गर्छन् ।
कम्पनीले अटेरी गरेपछि आयोजनाले अन्तिमपटक यही अप्रिल ३० तारिकभित्र काम सुरु नगरे कालोसूचीमा राख्ने र ठेक्का रद्द गर्ने प्रकृया किन सुरु नगर्ने भन्दै पत्राचार गरेको छ । उक्त पत्रले सुनौलो खिम्तीका साथै भारतीय कम्पनी सीमाञ्चल र गौरीपार्वतीलाई समेत असर गर्छ । सुनौलो खिम्तीले काम नगरे सीमान्चल र गौरीपार्वतीले काम सम्पन्न गर्ने जिम्मेवारी लिनुपर्छ । दुवै कम्पनीसँग पनि आयोजनाले छलफल चलाइरहेको उनले बताए । सुनौलो खिम्तीले नै साइडको कामको जिम्मेवारी लिएकाले भारतीय कम्पनीको अहिलेसम्म कोही पनि नदेखेको आयोजना प्रमुख नेपालले बताए ।
सुनौला खिम्तीले कर छली अभियोगमा बैंक खाता रोक्का भएपछि सञ्चालक नै बेपत्ता भएका हुन् । त्यसको असर दैनिक हजारौं यात्रुहरुले सास्ती भोग्न बाध्य भएका छन् । हिउँदमा धुलाम्य सडक बर्खा लाग्न थालेपछि पुनः ठाउँ ठाउँमा जाने पहिलो, खाल्डाखुल्डी र हिलोबाट अबरोज हुने भएपछि यातायात व्यवसायी, मजदुर र यात्रुहरुको चिन्ता बढ्न थालेको छ ।
मुडे–चरिकोटमा समेत असर
सुनौलो– खिम्तीको कारण दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडकमा समेत असर गरेको छ । भारतीय कम्पनी सकिल हैदर र शंकर मालीसँग सुनौला खिम्तीको समेत साझेदारी भएपछि लामो झमेलामा परेर यसको काम रोकिएको थियो । अहिले सुनौलो खिम्तीसँगको कारोबार मिलाएपछि सकिल हैदर र शंकर मालीले काम सुचारु गर्ने तयारी गरेका छन् ।
मुढेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडकको केही खण्डमा सुनौलो खिम्ती पनि साझेदार रहेकाले काममा अवरोध आएको थियो । सुनौलो खिम्ती करको विवादमा तानिएकाले केही खण्डको साझेदारीका कारण सीमाञ्चल र शंकर मालीको पनि करोबार रोकिएको थियो । यसअघि उक्त कम्पनीले सार्वजनिक रुपमा असार अगावै १० किलोमिटर पिच गर्ने प्रतिबद्धता गरेका थिए ।
निर्माण कम्पनी शंकर मालीका दिपक सापकोटाले सुनौलो खिम्तीसँगको साझेदारी अन्त्य भएको बताए । उनका अनुसार सबै खण्डमा काम अघि बढाइएको छ । आयोजना प्रमुख केदार नेपालका अनुसार ५० प्रतिशत प्रगति भएको मुडेदेखि चरिकोटसम्मको सडकमा आशा लाग्दो ढंगले कार्य भैरहेको छ ।
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले सडक बिग्रिएकाले ढुवानी समस्या हुँदा प्रगतिमा बाधा परिरहेको बताएको छ । चैत अन्तिम साता प्रधानमन्त्री केपी ओलीलाई आयोजना ढिला हुनुका कारणहरु मध्ये लामोसाँघु जिरी सडक भएको जानकारी गराए । सडक अप्ठ्यारो भएकै कारण ठूला पाइप ढुवानीमा समस्या हुँदा आयोजनाको प्रगतिमा ठेस लागेको आयोजनाका अघिकारीहरुले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीले ठेकेदारलाई आफैं सम्पर्क गर्ने र भारतीयसँग कुटनैतिक रुपमा समस्या समाधान गर्ने बाचा गरे लगत्तै ठेकेदार सम्पर्क विहीन भएको हो । उक्त आयोजना एक दिन ढिला हुँदा दैनिक चार करोड घाटा हुन्छ ।
-दिलबहादुर केसी