कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५
1176

विनासकारी भूकम्प गएको तीन वर्ष पूरा हुदा क्षति पुगेका आवास पुर्ननिर्माणले नुवाकोटमा बल्ल गति लिन सुरु गरेको छ । निर्माण सामग्री र दक्ष जनशक्ति अभाव तथा आवास निर्माणबापत पाउने अनुदान रकमको वितरण प्रक्रिया प्रभावकारी नहुदाँ सुस्त रहेको पुननिर्माणले पछिल्लो समय केही गति लिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
जिल्लामा ६९ हजार २८९ लाभग्राहीमध्ये अहिलेसम्म घरको जग तहसम्म निर्माण सम्पन्न गरी दोश्रो किस्ताको लागी अनुदान सिफारिस हुनेको संख्याका ५० हजार ८९ घरधुरी रहेका छन् । आवास निर्माणको जग तह पूरागरी दोश्रो किस्ताको लागी १ लाख ५० हजार रुपैयाँ पाउनको लागी निवेदन दिनेको सङ्ख्या ५१ हजार भन्दाबढी भएकाले तोकिएको मापदण्ड पूरा गरेका घरधुरीलाई अनुदान उपलब्ध गराउन सिफारिस गरिएको इकाई प्रमुख विदुर खड्काले जानकारी दिए । आवास निर्माण गरी दोश्रो किस्ताको अनुदान रकम लिने लाभग्राही कुल लाभग्राहीको ७८ प्रतिशत रहेको खड्काले बताए ।
“तोकिएको मापदण्ड अनुसार आवास निर्माण सम्पन्न गरी तेश्रो किस्ताको रकम पाउने लाभग्राहीको सङ्ख्या निकै कम रहेको छm” उनले भने । घर सम्पन्न गरी तेश्रो किस्ता पाउनेको सङ्ख्या ७ हजार ५ सय रहेको छ ।
शौचालयसमेतको आवास निर्माणगरी तेश्रो किस्ता बापत एक लाख रुपैयाँ अनुदान पाउने लाभग्राहीको सङ्ख्या कुल लाभग्राहीमध्ये ११ प्रतिशत मात्र छ ।
आवास निर्माण गर्ने लाभग्राहीको सङ्ख्या धेरै भएपनि निर्माण सम्पन्न भएको घरको प्राविधिक मार्फत स्वीकृत नगर्दा तेश्रो किस्ताको अनुदान पाउने लाभग्राही कम देखिएको हुनसक्ने इकाईका इञ्जिनियर उरुषा शाक्यले बताइन् ।

सात निकायमा घर सम्पन्न शून्य
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयको तथ्याङ्क अनुसार साविकका सात गाविसहरु शिखरवेशी, सामरी, समुन्द्रादेवी, लिखु, हल्देकालिका, दुईपिपल र घ्याङफेदीमा आवास निर्माण सम्पन्न हुने घरधुरी शून्य छ ।
प्रभावितले आवास निर्माण सम्पन्न गरेपनि घर परीक्षणको लागी जाने प्राविधिकको अभाव, दोश्रो किस्ता वितरणको समयसीमा असार मसान्तसम्म तोकिएकाले त्यसतर्फ बढी केन्द्रित भइरहेकाले तेश्रो किस्ता सिफारिस गर्न नसकेको शिखरवेशीमा खटिएका ईञ्जिनियर आशिष अधिकारीले बताए ।
“आवास निर्माण गर्ने घरधुरी सङ्ख्या शिखरवेशीमा तीनसय भन्दा बढी रहेको अनुमान छ,” अधिकारीले भने, “चार जना प्राविधिकको दरबन्दी हुनुपर्नेमा असिस्टेन्ट सब–ईञ्जिनियर र आफूमात्र रहेकाले तेश्रो किस्ताको सिफारिस जेठ लागेपछि मात्र सुरु गर्ने योजना छ ।”

चौध हजारभन्दा बढी घरले अनुदान पाएनन्
भूकम्पले आवास गुमाएका लाभग्राही मध्ये १४ हजार ५४६ ले निर्माण गरेको भवन तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अनुदान उपलब्ध गराउन तत्कालको लागी रोकिएको छ । मापदण्ड पूरा नभएका घरको प्रवलीकरण गरी बलियो बनाएर विपद् प्रतिरोधी बनाउन ईञ्जिनियरको समूह बनाएर समावेश गर्नको लागी भने पहल भइरहेको इकाईका ईञ्जिनियर शाक्यले बताइन् । त्यसको लागी अर्को साता स्थलगत खटिएका पाविधिकलाई तालीम दिने तयारी भएको छ । मापदण्ड पूरा नहुने आवासमा अधिकांश भूकम्प पश्चात आवास निर्माणमा सहयोग पु¥याउन प्राविधिक परिचालन हुनुपूर्व नै निर्माण भएका बढी छन् ।

अनुदान लिएका १३ हजारले घर बनाएनन्
लाभग्राही सूचीमा रहेका सबैलाई घर बनाउन सुरु नै नगरी पहिलोे किस्ता रकम उपलब्ध गराउने सरकारी कार्यक्रम अन्तरगत नुवाकोटका ६९ हजार २८९ लाभग्राही मध्ये ६४ हजार ५३ परिवारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ अनुदान लिएका छन् । पहिलो किस्ता बापतको अनुदान लिएका मध्ये ५१ हजार ९६० घरधुरीले मात्र घर निर्माण सुरु गरेको सरकारी तथ्याङ्क छ । “अनुदान लिएका करिब १३ हजार परिवारले अझै घर बनाउन सुरु नै गरेका छैनन् ” इकाई प्रमुख खड्काले भने “निर्माण नथाल्नेमा आर्थिक अबस्था कमजोर भएका, विस्थापित भएका तथा केही फर्जी लाभग्राही समेत रहेका छन् ।”
-रामहरि न्यौपाने