कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
1573

दमौली- तनहुँमा निर्माणाधीन रहेको १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो । सम्झौतामा प्राधिकरणको योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उप–कार्यकारी निर्देशक जगदीश्वरमान सिंह र तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले हस्ताक्षर गरेका छन् ।
सुक्खायाममा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा ६.१० रुपैयाँमा खरिद गर्ने गरी प्रारम्भिक सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । “आयोजनाको प्रारम्भिक पिपिएमा हस्ताक्षर भएको छ, अब प्राधिकरणको सञ्चालक समितिबाट पारित भएपछि कार्यान्वयनमा आउने छ,” अधिकारीले भने । प्राधिकरणले प्रारम्भिक पिपिए गरेको तनहुँ जलविद्युत् आयोजना पहिलो जलाशय आयोजना हो ।
आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मुआबजा तथा क्षतिपूर्ति वितरण भइसकेको छ । पहिलो प्याकेजअन्तर्गत आयोजनाको हेडवक्र्स, पावरहाउस पर्छ भने दोस्रो प्याकेजमा विद्युत्गृह र आयोजनाको सुरुङ निर्माण तथा इलेक्ट्रो मेकानिकल इक्विपमेन्ट आयत र जडान पर्छ ।
पहिलो प्याकेजमा एडीबी र दोस्रोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोग रहनेछ । पहिलोमा छनोट भएका ठेकेदारको अन्तिम मूल्यांकन तथा स्वीकृतका लागि एडिबी पठाइएको छ । यस्तै, दोस्रो प्याकेजको स्वीकृत गर्न जाइका पठाइएको छ । पहिलो प्याकेजको प्राविधिक मूल्यांकनको स्वीकृत आउने तयारीमा रहेको प्रबन्ध निर्देशक थिकेले जानकारी थिए । उनका अनुसार यसपछि कम्पनीहरूको आर्थिक प्रस्ताव खोलिनेछ ।
आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन भइसकेको छ । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ७० प्रतिशत मूआव्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ ।
आयोजनाको कुल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विधुतीकरणको खर्च सहितको हो ।
आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तराष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ ।
आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

 

कृष्ण न्यौपाने