कारोबार संवाददाता
बुधवार, बैशाख १२, २०७५
1648

सिन्धुली- सिन्धुलीमा पछिल्लो समय भूकम्प पछिको पुनर्निर्माणले गति लिन थालेको छ । भूकम्प गएको चौथो वर्ष लाग्नैलाग्दा जिल्लाका अधिकांश ठाउँमा धमाधम घर बन्दैछन् ।
कमलामाई नगरपालिका ६ रातमाटाकी तारादेवी मगर भूकम्पले भत्काएको घरको जग हालेर गारो लगाउने सुरसारमा छन् । तारादेवीले डकर्मी तालिमपछि आफ्नो घर आफैं बनाउँदैछन् । आफूले सिकेको सिपले आफ्नो घर आफै बनाउँदा खुसी लागेको भन्दै अब भूकम्पप्रतिरोधी घर बन्ने उत्साह थपिएको बताइन । उनले भनिन्, “आफ्नै मेहनतले घर बनाइरहेको छु, तीन वर्षपछि बल्ल ओतमा बस्न पाउने भइयो ।”

सुनकोसी गाँउपालिका ६ सिततपाटिकी सीता बरालको पनि भूकम्प प्रतिरोधात्मक घर बन्दै छ । अस्थायी टहरामा बस्दा झेलेका कठिनाई सम्झिँदै अब बन्ने घरमा कुनै सम्झौता नगर्ने उनले बताइन् । यो महिनाको अन्तिमसम्म घर पूरा हुन्छ कि उनले भनिन्, “कत्ति टहरामा बस्नु बर्खा पनि सुरु हुनै लागिसक्यो ।”
सिता बरालका अर्का छिमेकी राजन कार्कीले भने जिल्ला बाहिरबाटै डकर्मी झिकाएर घर बनाइसकेका छन् । अन्तिम किस्ताका लागि निवेदन पेश गरिसकेको भन्दै अरुलाई पनि मापदण्ड अनुसार घर बनाउन सल्लाह दिन्छन् । अहिले सिन्धुलीका अधिकांश भूकम्प प्रभावितहरू घर बनाउने काममा व्यस्त देखिन्छन् । घाम, पानी, हावाहुरीका कारण कष्टकर दैनिकी विताएका प्रभावित अब भने बर्खा अगावै घर निर्माण गरिसक्ने लक्ष्यका साथ धमाधम घर बनाउदैछन् ।
जिल्लामा अहिले बन्दै गरेका अधिकांश घरको डीपिसी तह सकीएका छन् । सरकारी अनुदान लिने समय चैत्र महिनाका लागि तोकिएपछि जिल्लामा पूर्ननिर्माणले गति लिएको देखिन्छ । सरकारी अनुदान फिर्ता गर्ने डरले नै घर सुरु गरेको कतिपय भूकम्प प्रभावितहरू बताउछन् । यता समय सकिनै लाग्दासम्म घर निर्माण सुरु नगरेका केही प्रभावितहरू भने म्याद थपिएसँगै अहिले घरको जग हाल्दैछन् ।
भूकम्पका कारण क्षति भएका १८ हजारभन्दा बढी घर निर्माणको चरणमा रहेका छन् । जिल्ला समन्वय समिती पुनर्निर्माण प्राधिकरणको सचिवालय सिन्धुलीका अनुसार हालसम्म जिल्लामा भूकम्पले भत्किएका १८ हजार ४७६ घरको पुनर्निर्माण सुरु भएको छ ।
पछिल्लो समय जिल्लाको पुनर्निर्माण तीब्ररूपमा अघि बढेको पुनर्निर्माण प्राधिकरणको सचिवालय प्रमुख बासुप्रसाद हुमागाईंले बताए । अहिले भूकम्पप्रभावितहरूले निजी आवास पुनर्निर्माणलाई प्राथमिकताकासाथ धमाधम घर बनाउन सुरु गरेको उनको भनाइ छ । यस्तै, जिल्लाका १६ हजार ८०६ लाभग्राहीले दोस्रो किस्ताबापतको अनुदान समेत लिइसकेका छन् भने दोस्रो किस्ता लिइ काम सम्पन्न गरिसकेका प्रभावितमध्ये २ हजार ९ सय ४९ जनाले तेस्रो किस्ता वापतको अनुदान लिइसकेको उनले जानकारी दिए ।
जिल्लामा हालसम्म ३ हजार ३२१ घरको पूर्ननिर्माण सम्पन्न भएको सचिवालय प्रमुख हुमागार्इंले बताए । भूकम्पका कारण जिल्लाको ३४ हजार ९८८ भूकम्प पीडित लाभग्राही सूचीमा परेका थिए । जसमा ३२ हजार ९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।
२ हजार घर प्रबलीकरण हुँदै
सिन्धुलीका दुई हजार भन्दा बढी घरको प्रबलीकरण हुने भएको छ । भूकम्पका कारण आंशिक क्षेती पुगेका दुई हजार चार सय आठ घर प्रबलीकरणको सूचीमा छन् । सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत गरेर भूकम्प प्रतिरोधी बनाउने जिल्ला समन्वय समितिको सचिवालयले जानकारी दिएको छ ।

कृञ्जला पुलामी