कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५
995

सोलुखुम्बु-सगरमाथा आरोहणका लागि क्याम्प २ सम्मको बाटो निर्माण भएको छ । सगरमाथाको आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो निर्माणको काम सम्पन्न भएको हो ।
गत चैत १८ देखि निर्माण सुरु गरेको समूहले अप्रिल ११ अर्थात् गत शुक्रबार क्याम्प २ सम्मको बाटो बनाउने काम सकेको आइसफल डाक्टर आङसर्की शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार क्याम्प २ सम्म ११ स्थानमा भर्यांग राख्ने र अन्य क्षेत्रमा डोरीसमेत टांगिएको छ । आइसफल डाक्टर आङकामी शेर्पाको नेतृत्वमा आठजनाको समूहले सगरमाथा अरोहणका लागि बाटो निर्माण गरेको हो । आधार शिविरदेखि क्याम्प १ र क्याम्प २ सम्मको बाटो सगरमाथा राष्ट्रिय प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का आइसफल डाक्टरको समूहले निर्माण गरेको छ । एसपीसीसीले हरेक वर्ष हिमाल आरोहण अघि क्याम्प २ सम्म बाटो निर्माण गर्दै आएको छ । बाटो निर्माण गर्ने आइसफल डाक्टरको टोलीले हिमपातका कारण भत्किएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्यांगको व्यवस्थापन गरेको छ । यो सँगै सगरमाथा चढ्नेका लागि बाटो खुला भएको छ ।

हिमपातका कारण भत्किएका बाटो बनाउनुका साथै आरोहणका क्रममा प्रयोग हुने डोरी र भर्यांगको समेत व्यवस्था मिलाइएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) काकार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । सगरमाथा आरोहणका लागि एकै स्थानमा दुईदेखि तीन वटासम्म भर्यांग जोड्नुु पर्ने हुन्छ । लामा विधिद्वारा पूजापाठ गरेसँगै औपचारिक रूपमा बाटो बनाउने काम सुरु गरिएको थियो ।
अहिले आरोहीहरू धमाधम क्याम्प १ हुँदै २ तर्फ लागिरहेका छन् भने आधार शिविर आउने क्रम पनि जारी छ । केही पर्यटक आरोहणको तयारी गरिरहेका छन् । अब क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । आगामी बिहीबारदेखि क्याम्प २ हुँदै चुचुरो जाने बाटो निर्माण गरिनेछ । चुचुरोसम्म जाने बाटो निर्माणको जिम्मा हिमालयन गाइड कम्पनीले लिएको छ ।

अमृता राई