अमरराज आचार्य
शुक्रवार, श्रावण १६, २०७७
519

दाङको दक्षिणतर्फ रहेको मुसी नाकामा विद्युत् पु-याइएको छ । गढवा गाउँपालिका–८ मा रहेको उक्त मुसी नाकामा विद्युत् पु-याइएको हो । गाउँमा विद्युत् पुगेपछि स्थानीय बासिन्दा खुसी भएका छन् । नाकावासीले विद्युत्को उज्यालोमा बस्ने आफूहरूको सपना पूरा भएको बताएका छन् । “गाउँमा बिजुली आएसँगै विद्युत्को उज्यालोमा बस्ने हाम्रो सपना पूरा भएको छ,” स्थानीय अबिना बुढा मगरले भने । आफूहरूको लामो समयदेखि विद्युत्को उज्यालोमा बस्ने पाउने धोका पूरा भएको उनको भनाइ छ । लामो समयसम्म टुकी र सोलारको उज्यालोमा बसेका उनीहरूलाई विद्युत् पुगेपछि सहज हुने उनीहरूको भनाइ छ ।
विकट बस्तीमा उज्यालो पु-याउने योजनाअनुसार करिब ५० लाखको लागतमा मुसिनाकामा बिजुली पु-याउन सफल भएको गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्धाम सिद्धिकीले बताए । विद्युत् पु-याउनका लागि हालसम्म ४६ लाख खर्च भइसकेको छ । अझै केही घरसम्म पु-याउन बाँकी रहेकाले ५० लाख लाग्ने अनुमान गरिएको उनको भनाइ छ । यसका लागि गाउँपालिकाले १० लाख दिएको र अन्य सबै खर्च वडाको तर्फबाट गरिएको उनले बताए । वडा कार्यालयको बजेटमार्फत नेपाल विद्युत् प्राधिकरण लमही शाखाको प्राविधिक सहयोगमा विद्युत् जडानको काम गरिएको हो । मुसी नाकामा २६ घर परिवार बसोबास गर्दै आएको अध्यक्ष सिद्धीले बताए । “लामो समयको प्रयासपछि अहिले विद्युत् पु-याउन सफल भएका छौं ,” अध्यक्ष सिद्धिकीले भने । आफू निर्वाचित भएदेखि नै नाकाहरू सम्म विद्युत् पु-याउने प्रयास जारी राखेको उनको भनाइ छ । जनप्रतिनिधिमा निर्वाचित भएको ३ वर्षमा मुसी नाकामा विद्युत् पु-याउन सकिएको अध्यक्ष सिद्धिकी बताउँछन् । यसका लागि स्थानीय बासिन्दाले लामो समयदेखि प्रयास गर्दै आएको उनी बताउँछन् ।
मुसी नाकामा पुग्नका लागि कोइलावासबाट करिब २ घण्टा पैदल लाग्ने गरेको उनको भनाइ छ । वडाका अन्य नाकामा पनि विद्युत् पु-याउने योजना रहेको सिद्धिकी बताउँछन् । “नाका क्षेत्रमा बिजुली पु-याउन जटिल थियो तर पनि हामीले त्यो जटिलतामा काम सम्पन्न गरेका छौं,” उनले भने, “अहिले जनताको अनुहारमा देखिएको खुसीले हामीलाई उत्साह थपेको छ,” यसअघि वडा नं. ८ को कोइलाबासमा मात्रै बिजुली थियो । मुसिनाकामा २५ केभीएको ट्रान्सफर्मर जडान गरिएको छ । मंगलबार बेलुका मुसिनाकामा विद्युत् बालिएको हो । योसँगै अब खबरी नाका र सिसौंरा नाकामा बिजुली पु-याउने काम सुरु भएको वडाध्यक्ष सिद्धिकी बताउँछन् । “पाँच वर्षे कार्यकालमा वडाका सबै बस्तीमा बिजुली पु-याउने संकल्प छ,” अध्यक्ष सिद्धिकीले भने । खबरी नाका र सिसौरामा पनि विद्युत् पु-याइने वडाध्यक्ष सिद्धिकीले बताए । “घग्रोलमा दुई घरधुरीको एउटा गाउँ छ । त्यहाँ ठूलो पावरको सोलार जडान गर्ने योजना छ,” उनले भने । मंगलबार एक कार्यक्रमको आयोजना गरी बत्तीको स्वीच अन गरेर विद्युत् उद्घाटन गरिएको थियो । उद्घाटनसँगै विद्युत् कार्यालयलाई जिम्मा दिएको अध्यक्ष सिद्धिकीले बताए । “अबदेखि यसको जिम्मेवारी विद्युत्ले हेर्नेछ,” उनले भने ।

विद्युत् पुगेसँगै मिल सञ्चालन गरिने
मुसीनाकामा विद्युत पु-याइएपछि मिल स्थापना गरिने भएको छ । “विद्युत् आएसँगै यस स्थानमा मिल स्थापनाका लागि व्यवस्था गरिने छ,” वडाध्यक्ष सिद्धिकीले भने । मिल नहुँदा अहिले उक्त गाउँका नागरिक भारतमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । “गहँु, मकै, बेसार पिसाउनका लागि मिल स्थापना गर्ने व्यवस्था मिलाउने छु,” उनले भने । मिल सञ्चालनमा आएपछि पिसाउनका लागि भारत जानुपर्ने बाध्यता हटने उनको भनाइ छ ।

जिल्लामा रहेको ८३ किलोमिटर सीमा क्षेत्रको ३१ बढी नाकामा बसोबास गर्ने नागरिक अझै अध्यारोमा बस्न बाध्य छन् । सरकारले हरेक घर र बस्तीमा विद्युत्को उज्यालो पु-याउने बताए पनि अझै यस्ता बस्तीमा विद्युत् पुग्न सकेको छैन ।