कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
911

आगामी २ महिनामा उपभोक्ताको धारामा पानी

मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भइसकेको भन्दै खानेपानी मन्त्री वीना मगरले अब छिट्टै उद्घाटन हुने बताएकी छन् । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी गराएकी हुन् ।
आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङमार्गमा पथान्तर गरिएको बताइएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने जानकारी दिइएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार आइतबार मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षणका लागि पानी पठाइएको छ । “जिरो चेनेजबाट अस्थायी हेडवक्र्स हुँदै पानी सुरुङमार्गतिर पथान्तरण गरिएको हो, अम्बाथान अर्था सुरुङमार्गको पहिलो अडिटसम्मको करिव ८ सय मिटर परीक्षण गरिएको छ,” पत्रकार सम्मेलनमा मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले भने, “अम्बाथान अडिटबाट पुनः पानी मेलम्ची खोलामा नै फर्काइएको छ र सोमबार सुरुङमार्गतिर पानी पथान्तरण गरिने छ ।” उनका अनुसार सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिने छ । सुरुङको सुरक्षा तथा सञ्चालनका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्डअनुसार पानी प्रवाह गरिने छ ।

खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिने बताए । “अब २ महिनामा उपभोक्ताको धारामा मेलम्चीको पानी आउने छ, उपभोक्ताको प्रतिक्षाको समय अब सकिदै छ,” उनले भने, “करिब दुई महिना लगाएर परीक्षण सकेपछि नियमति रुपमा मेलम्चीबाट सुन्दरीजल पानी पठाउन सकिने छ, अहिले अस्थायी संरचनाबाट पानी ल्याउन लागिएको हो । स्थायी संरचना बनेपछि त्यसैबाट ल्याइनेछ ।”
स्थायी हेडवक्र्स निर्माण भइरहेको भन्दै खत्रीले ७० प्रतिशत भौतिक प्रगति भएको बताए । स्थायी संरचना माघसम्म तयार हुने उनको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री मगरले मेलम्ची आयोजना सम्पन्न भएको बताइन् । “मेलम्चीबारे थुप्रै आशंकाहरू थिए, आम जनतामा निराशा थियो, मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरू पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरू, अन्यौलताहरू, गलत प्रचारहरू हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धि हो,” उनले भनिन् ।
पत्रकार सम्मेलनमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए । “आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने छ,” उनले भने । इटालियन कम्पनी सीएमसीले छाडेर गएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले निर्माणको काम गरिरहेको छ । जसले सुरुङमार्ग फिनिसिङ दसैंसम्म सक्ने गरी ठेक्का पाएको थियो ।