दिलबहादुर केसी
बुधवार, असार १७, २०७७
560

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना


दोलखा -४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको आयोजनाको ठाडो सुरुङको पाइप जडान पूरा भएको छ ।

एक महिनाअघि ३७३ मिटर लामो तल्लो ठाडो सुरुङमा पाइप राख्ने काम पूरा भएको आयोजनाको माथिल्लो साफ्टको पाइप जडानको काम पनि सोमबार पूरा भएको हो ।
३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा भने भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीले निकै लामो कसरतपछि एक वर्षअघि पाइप जडान थालेको थियो । काम सुरु गरेको एक वर्षमा पाइप जडानको काम पूरा गरेको आयोजनाका योजना अनुगमन तथा मूल्यांकन प्रमुख विमल गुरुङले जानकारी दिए ।
पाइपको अन्तिम टुक्रा जोडेर सोमबारदेखि वेल्डिङ सुरु भएको छ । अब ३ दिनभित्र कंक्रिटको कामसमेत पूरा हुने उनले बताए । आयोजनाको ठाडो सुरुङ (९० डिग्री) मा पाइप जडान कार्य सबैभन्दा जटिल मानिएको थियो । दुवै ठाडो सुरुङ ६८३ मिटरको रहेको छ । यो नै नेपालको सबैभन्दा अग्लो सुरुङ हो ।
सबै सुरुङमा पेनस्टक पाइप जडानको ठेक्का भने भारतीय कम्पनी टेक्सम्याकोलाई दिइएको थियो । भारतीय कम्पनीले सन्तोषजनक काम गर्न नसकेपछि आयोजनाले त्रिपक्षीय सम्झौता गर्दै तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा अस्ट्रियन कम्पनीलाई दिएको थियो । त्यसपछि आयोजनाको कामले गति लिएको थियो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले अनुसार दुवै साफ्टको पाइप पूरा गरेसँगै आयोजनाको अब जटिल काम सकिएको बताए । अब आयोजनाबाट विद्युत् चाँडै उत्पादन हुनेमा आशावादी हुनसक्ने अवस्था रहेको बताए । आयोजनाले असार अन्तिमबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखे तापनि चैतदेखिको लकडाउनका कारण ३ महिनापछि धकेलिने अवस्था आएको छ ।
दुई वटा ठाडो सुरुङको बीचमा एक सय मिटर तेस्रो सुरुङमा पनि पेनस्टक पाइप जडान गर्नुपर्छ । ठाडो सुरुङको तुलनामा तेस्रो सुरुङमा पाइप जडान गर्न धेरै सहज हुन्छ । तेस्रो सुरुङमा पनि पाइप जडानको काम सुरु भइसकेको छ । लकडाउन अघि रोकिएका पाइप र गेटका काम ढुवानीका काम पनि जारी छन् । कतिपय पाइप र गेटहरू टेक्सम्याकोको फ्याक्ट्री कोलकोत्तामै उत्पादन हुन बाँकी रहेकाले त्यसका लागि आयोजना र सरकारकै तर्फबाट निरन्तर ताकेता जारी रहेको उनले बताए ।
ठाडो सुरुङमा माथिबाट पानी झर्ने, ढुंगा झर्ने वेल्डिङ गर्दाको धुँवाका कठिन परिस्थितिका बाबजुद पाइप जडान पूरा गर्न सकेकोमा सबैलाई हौसला बढाएको आयोजनाका योजना अनुगमन शाखा प्रमुख गुरुङले बताए । टेक्सम्याकोले मेकानिकलका सामान उत्पादन र ढुवानीमै ढिलाइ गरेपछि ८ महिनाअघि ऊर्जासचिव, दिनेश घिमिरे, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अपरतामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ, आयोजना प्रमुख दिनेशजंग राणा, विमल गुरुङ आफैं कलकत्तामै पुगेका थिए । लकडाउन अघिसम्म एकजना मेकानिकल इन्जिनियर फ्याक्ट्रीमै राखेर ताकेता लगाएको बताए । अब फेरि मेकानिकल इन्जिनियर ताकेताका लागि कलकत्ता पठाउन लागेको गुरुङले जानकारी दिए ।
कोरोना भाइरसका कारण देश लकडाउन हुँदा देशभर सबै काम रोकिँदासमेत माथिल्लो तामाकोसीको काम भने सुरक्षाका उपाय अपनाउँदै काम जारी रहेको थियो । लकडाउनकै अवस्थामा पाइप जडानमा उल्लेख्य प्रगति भएको हो । आयोजनामा २७ टनसम्मका पाइप जडान गरिएका छन् ।