गोपाल पोखरेल
सोमवार, असार १५, २०७७
557

उदयपुर-तराई र पहाडलाई जोड्ने उदयपुर जिल्लाका दर्जनौं ग्रामिण सडक बर्षाका कारण हिलाम्य बनेपछि उदयपुर जिल्लाको आन्तरिक यातायात प्रभावित भएको छ । बर्षाका कारण मुर्कुची– पुवारे – माझखर्क, बेल्टार–सिद्धिपुर, गाईघाट– रौता पोखरी –सल्ले, कटारी–माझखर्क, वेतेनी –राउतखर्क–रुपाटार लगायतका ग्रामीण सडक केही दिन देखिको बर्षाले हिलाम्य भएका छन् । जगंलबाट आएको भेल, बाढी र खहरे खोलाले सडक क्षतिग्रस्त भएपछि यतिबेला सडकमा ट्याक्टर गुडाउन समेत समस्या हुने गरेको छ ।
ट्रयाक खुले लगत्तै सुख्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका सडक अहिले जताजतै हिलाम्य अबस्थामा रहेको माझखर्कका हर्कशेर तामाङ्गले बताए । “ सडकलाई नियमितरुपले सञ्चालन गर्नका लागि ट्रयाक खुले लगत्तै नाली बनाउनु पथ्र्यो” उनले भने “ तर नाली नबनाइएकाले सडक दीगो हुन सकेनन् ।”

भर्खरै खुल्दै गरेका र पहिले खोलिएका धेरै मोड भएका र साँधुरा सडक बर्षापछि अबरुद्ध भएको व्यावसायी वताउँछन् । “सवारी साधन संचालनका लागि प्रर्याप्त मोड चा“हिन्छ ” सवारी चालक सन्तोष कार्कीले भने, “तर जिल्लाको पहाडी क्षेत्रमा निर्माण गरिएका सडक एकातिर हिलाम्य छन् भने अर्कोतिर साँघुरा भएकाले सवारी संचालन नै गर्न नसकिने अवस्थामा छन् । ” त्यसैले सवारी चालकले दुर्घटना हुन नदिने जति प्रयास गरेपनि दुर्घटना हुने गरेको उनले वताए ।
जिल्लाको उत्तरी दुर्गम क्षेत्र भनेर चिनिने २ हजार ३ सय मिटरको उचाईमा पर्ने माझखर्क र बाराहालगायतका क्षेत्रलाई समेत सडक संजालले छोएको छ । सुदुरपूर्वमा पर्ने मैनामैनी, सिद्धिपुर बबलालगायतका स्थानमा पनि सडक निर्माण भएको ३ बर्ष नाघेको छ । तर यतिबेला सबै काम नला्ग्ने अबस्थामा पुगेका छन् । वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका कारण सामान्य बर्षा हुँदा पनि यी सडक अबरुद्ध हुने गरेको चौदण्डीगढी १ का वीरबहादुर माझी बताउँछन् ।
“करीव २० लाख रुपैयाँको लागतमा दुई बर्ष अघि ट्र्याक खोलिएको बर्रैदेखि ताप्ली जोड्ने सडक भत्किएको छ” ताप्लीका तेजप्रसाद गिरीले भने,“ ताप्ली पोखरीबाट रुपाटार जोड्ने सडकको पनि अबस्था नाजुक हुँदै गएको छ ।” उनका अनुसार यतिबेला यी सडकमा दुर्गमका लागि सवारी साधन बनेको ट्याक्टर समेत संचालन गर्न समस्या भएको छ ।
उदयपुर जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका सवै वडाहरुमा कच्ची सडक पुगेपनि ती मापदण्ड अनुसारका नहुँदा हरेक बर्षायाममा सवारी संचालनमा कठिनाई हुँदै आएको छ । सरकारी मापदण्ड विपरित र प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गरिँदा हरेक बर्षायाममा यी सडक अबरुद्ध हुँदै आएका छन् ।