कारोबार संवाददाता
सोमवार, असार १५, २०७७
453

म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको कालीगण्डकी प्रसारण कोरिडोर सबस्टेसनमा असार १० गते दाना बासिन्दाद्वारा लगाइएको ताला खोल्ने सहमति भएको छ । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाइ नहुँदा असार १० गते सवस्टेसनको प्रवेशद्वारमा स्थानीयले तालाबन्दी गरेका थिए ।
आइतबार जिल्ला प्रशाशन कार्यालय एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्वुजा, मालपोत अधिकृत कृष्णबहादुर कार्की, आयोजना प्रमुख चन्दनकुमार घोष र प्रभावित दानावासीको उपस्थितमा चारबँुदे सहमतिपछि ताला खोल्ने सहमति भएको हो ।

सहमतिमा बेनी जोमसोम सडकबाट ज्ञानप्रकाश माविसम्म जाने सडकको स्तरोन्नति, सिर्जनशील महिला सहकारी संस्था, रुइसे युवा क्लबका खेल मैदान र सामुदायिक भवन लगायतको वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गत हाल २० लाखमध्ये १० लाखबाट तत्काल काम गर्ने सहमति भएको छ ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी प्रसारणा कोरिडोर आयोजना सवस्टेसन निर्माणपछि प्रभावित दानावासीलाई गुणस्तरीय विद्युत् उपलब्ध गराउने र क्रमिक रूपमा अन्नपूर्ण गाउँपालिकाको सबै वडाहरूमा गुणस्तरीय विद्युत् पु¥याएर लोडसेडिङ मुक्त गराउन सम्बन्धित निकायमा पठाउने सहमति भएको प्रजिअले जानकारी दिए ।
त्यस्तै दानावासीको मागहरूलाई प्राथमिकताका साथ राखेर सम्बोधन गर्दै जाने स्थानीयवासीहरूद्वारा निर्माणाधीन सवस्टेसन निर्माणमा ताला खुलाएर पूर्णरूपमा सहयोग गर्ने निर्णय भएको छ भने जलथलेदेखि द्वारेखोला पुलसम्मको सडकमा हाल गएको पहिरोबाट सडक अवरुद्धको मर्मत सम्भारको व्यवस्था तत्काल आयोजनाबाट मिलाउने निर्णय गर्दै आयोजनाको गेटको ताला खुलाउने सहमति भएको हो ।
स्थानीयले विभिन्न समयमा मागहरू राख्दै बैठक बोलाउँदा आयोजनाबाट सहभागी नहुने र सम्झौताअनुसार काम नभएपछि स्थानीयहरू मिलेर असार १० गते सवस्टेसनको गेटमा तालाबन्दी गरेको संघर्ष समितिका संयोजक सुरत केसीले बताए ।
दाना र पर्वतको खुर्कोटमा सवस्टेसनका साथै ३९ दशमलव ६ किलोमिटर दूरीको प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असार महिनाभित्र सवस्टेसन चार्ज गर्ने आयोजनाको तयारी छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एसियाली विकास बैंकको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सवस्टेसन बनाउन लागिएको हो ।
प्रशारण लाइन र सवस्टेसन बनाउन सन् २०१६ मा २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना करिब २ वर्ष ढिला गरी सकिन लागेको छ ।

धीरन खत्री