हरिश चन्द
शुक्रवार, जेठ २३, २०७७
549

डडेल्धुराका तीनवटा नयाँ सडक कालोपत्रे हुने भएका छन् । तीनवटा सडक खण्डको ३२ किलोमिटर कालोपत्रे गर्ने कार्य यसै वर्षदेखि सुरु हुन लागेको हो । जिल्लाको गाईबाँधे–लिप्ना, उग्रतारा–मेलौली र पोखरा–बेलापुर–ढुंगाड सडक कालोपत्रे हुने भएका छन् ।
उग्रतारा–मेलौली सडक खण्डको १० किलोमिटर, पोखरा–बेलापुर सडक खण्डको १० किमि र गाईबाँधे लिप्ना सडक खण्डको १२ किमि सडक कालोपत्रे हुन थालेको हो । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा डीबीएस्टी प्रविधिबाट सडक कालोपत्रे हुन थालेका हुन् । यी तीनवटै सडक कालोपत्रे गर्नका लागि बोलपत्र आह्वान भइसकेकाले चालू आर्थिक वर्षभित्रै सडक कालोपत्रे गर्ने काम सुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए । “बोलपत्र आह्वान भइसकेको छ,” उनले भने, “आर्थिक वर्ष ०७६÷७७ देखि कालोपत्रे गर्ने काम सुरु हुन्छ । सुदूरपश्चिम प्रदेशका गौरवका योजना रहेका यी सडक कालोपत्रे भए डडेल्धुरामात्रै नभई बैतडी, कञ्चनपुर जिल्लाका लाखौं स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् ।”

डडेल्धुराका गौरवका योजना रहेका यी तीनवटै सडक कालोपत्रे भएपछि डडेल्धुराको नवदुर्गा गाउँपालिका, भागेश्वर, आलिताल, अजयमेरु गाउँपालिका, परशुराम नगपालिकासहित बैतडीको तल्लोस्वराड क्षेत्रका तीनवटा स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासँगै कञ्चनपुर जिल्लाका कृष्णपुर, शुक्लाफाँटा, बेतकोट र भीमदत्त नगरपालिका क्षेत्रका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
कञ्चनपुरका यी स्थानीय तह डडेल्धुराको भित्रिमधेस जोगबुडाको परशुराम नगरपालिकासँग जोडिएका छन । परशुराम नगरपालिका आलिताल गाउँपालिकासँग जोडिएको छ भने आलिताल गाउँपालिका जिल्ला सदरमुकामको अमरगढी नगरपालिका र भागेश्वर गाउपालिकासँग ।
भागेश्वर गाउपालिकासँग अजयमेरु गाउँपालिका र बैतडीको तल्लो स्वराडका मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका जोडिएका छन् । त्यसैले बैतडी र कञ्चनपुरको ट्रान्जिट प्वाइन्टका रूपमा डडेल्धुरा छ । उग्रतारा–मेलौली सडक अमरगडी नगरपालिका–७ बाट अजयमेरु हँुदै मेलौलीसँग जोडिएको छ । अमरगढी नगरपालिका–३ हँुदै चिर्किट्टे सडक भागेश्वर आलिताल हुँदै परशुराम नगरपालिका पुगिसकेको छ । यी सडक कालोपत्रे भए यहाँबाट कञ्चनपुर बैतडी आउजाउ गर्न, जिल्ला सदरमुकाम आउजाउ गर्न र मालसामान ढुवाली गर्न स्थानीयलाई निकै सहज हुने देखिन्छ । सडक कालोपत्रे हुने भएपछि स्थानीय हर्षित भएका छन् । सडक कालोपत्रेसँगै बाह्र्रै महिना सहजै रूपमा यातायात सञ्चालन हुने भन्दै स्थानीय बासिन्दा खुसी भएका छन् ।
सडक कालोपत्रे नहुँदा वर्षात्का समयमा मात्रै नभई अन्य समयमा पनि जोखिम पूर्णरूपमा यात्रा गर्न बाध्य रहेका स्थानीय बासिन्दालाई सडक कालोपत्रे भएपछि आवतजावतका लागि सहज हुने नवदुर्गा गाउँपालिकाका स्थानीय टेकबहादुर शाहीले बताए । सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म पु-याउनका लागि सहज हुनुका साथै स्थानीय बासिन्दालाई वर्षात्को समयमा पनि स्वास्थ्योपचारका साथै अन्य कामका लागि जिल्ला सदरमुकामसम्म जानका लागि सहज हुने भएको छ ।