घनश्याम पौडेल
बुधवार, जेठ २१, २०७७
331

अर्घाखाँची-जिल्लामा संघ, प्रदेश र स्थानीय सरकारबाट चालू आवका लागि विनियोजन गरेको बजेटबाट विकास निर्माणको काम धमाधम सुरु भएको छ । स्थानीय सरकारले सम्झौता गरेका योजनाको काम धमाधम सञ्चालन गरेका छन् ।
सामाजिक विकासतर्फका कार्यक्रमबाहेक पूर्वाधार निर्माणका काम अगाडि बढेका हुन् । पाणिनी गाउँपालिकामा कोरोना कहरसँगै करिब ७५ प्रतिशत विकासका काम सम्पन्न हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए । सम्पन्न भएका योजनाको सामाजिक दूरी कायम राखेर अनुगमन पनि गरेका छौँ, मोटरबाटो खन्ने र खानेपानी आयोजनाका काम अगाडि बढेका छन् ।

पाणिनीको वडा नं. ७ अडगुरीमा भारतबाट आउने मानिसको व्यवस्थापनसँगै विकासका काम सामाजिक दूरी कायम गरेर अगाडि बढाएको वडाध्यक्ष गुणाखर अधिकारीले बताए । छत्रदेव गाउँपालिकामा पनि करिब ८० प्रतिशत विकासका काम सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । “कोरोनाका कारण निर्माण सामग्री ढुवानी गर्ने गाडी नचलेका कारण केही समस्या भएको छ,” भुसालले भने । सामाजिक दूरी कायम राख्दै कोरोनाको व्यवस्थापनसँगै विकासका काम अगाडि बढाएका छौं ।
भूमिकास्थान नगरपालिकाले पनि कोरोना कहरसँगै निर्माणकार्य अगाडि बढाएको छ । स्वदेश तथा भारतबाट आउने मानिसको व्यवस्थापनसँगै विकासका काम अगाडि बढाएको नगरपालिकाका प्रमुख रेशम थापाले बताए । नगरपालिकाले विनियोजन गरेको चालू आवमा सम्पन्न गर्नुपर्ने महत्वपूर्ण काम अगाडि बढेको छ । लकडाउनको समयमा पनि विकास निमार्णको बजेट फ्रिज जाने डरले विकासका काम अगाडि बढाएको हो ।
बाजाखर्क‐जोगीटारी‐सडक कालोपत्रेका लागि १ करोड ९९ लाख पिपलनेटा, गिठाखोला, साम्नेगाउँ, प्युठान सडक कालोपत्रेको काम अगाडि बढेको भूमिकास्थान नगरपालिकाका कम्प्युटर अप्रेटर शेषकान्त घिमिरेले जानकारी दिए । भूमिकास्थानका अन्य वडामा पनि सम्झौता भएका योजनाको काम अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले भने, “हामीहरू कोरोनाको हल्लासँगै सुनौली सीमामा पुगेर मानिस ल्याएर व्यवस्थापनलाई ध्यान दियौँ, कोरोनाको कहर नहँुदै केही विकासका काम सम्पन्न भएका थिए । अन्य बाँकी योजनाको काम अगाडि बढाएका छौँ ।”
जिल्लाको शीतगंगा नगरपालिकाले कोरोना कहरसँगै नगरपालिकाको भवन शिलान्यास गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए । कोरोना कहरसँगै घरको छानोमुक्त शीतगंगा अभियानअन्तर्गत गरिब, विपन्नलाई टिन वितरण गर्ने कार्यक्रमलगायतका विकासे निर्माणका काम अगाडि बढाएको अधिकारीले जानकारी दिए ।
सन्धिखर्क नगरपालिकाले पनि विकासका काम अगाडि बढाएको छ । चालू आवमा सम्पन्न गर्नुपर्ने काम अगाडि बढाएको छ । प्रदेश सरकारबाट सम्पन्न हुने पुल निर्माण, मोटरबाटा डबल कटिङ, खानेपानीका योजना अगाडि बढेका छन् । सालझण्डी‐सन्धिखर्क‐ढोरपाटन सडकले पनि फुदवाङ‐बलेवाङ मोटरबाटो पिच गर्ने कार्यक्रमअन्तर्गत डबल कटिङको काम धमाधम अगाडि बढाएको योजना प्रमुख जयलाल मरासिनीले बताए ।